राजमार्गको सास्ती कहिलेसम्म ?

समाधान संवाददाता २०८० फागुन १ गते ११:५८

राजमार्गले नेपालको पूर्वको यात्री पश्चिम र उत्तरको यात्री दक्षिण जाने सहज र छोटो मार्ग बुझाउँछ । सैद्धान्तिक रुपमा पनि राजमार्गको परिभाषाले फराकिलो सडक र सहज यात्रा गर्न सकिने बाटो जनाउँछ । तर नेपालका राष्ट्रिय राजमार्गहरु यात्रीहरुको अनिश्चित र जोखिमपूर्ण यात्रा र दुर्घटनाको मुख्य स्थान बनेका छन् । नारायणगढ मुग्लिङ सडक खण्ड यसको सबैभन्दा राम्रो उदाहरण हो । नेपालका सबैभन्दा धेरै सवारी गुड्ने सडक कुनै छ भने यही हो ।

तर यो सडकलाई मर्मत गर्ने नाउँमा हिउँदभरी ढिलाई र वेवास्ता गर्ने अनि वर्षात लागेपछि निर्माण गर्न खोजे जस्तो देखाएर हजारौं यात्रीलाई सास्ती दिने गरिन्छ । अति संवेदनशील अवस्थामा रहेको यो सडकलाई अझै पनि राज्यले जोखिम छ भन्न सकेको छैन । अहिले मुग्लिनबाट पोखरासम्मको सडक स्तरोन्नति भइरहेको छ । धीमा गतिमा रहेको काम अहिले केही भएको देखिन्छ तर यसैमा सन्तुष्ट हुने ठाउँ छैन ।


राजधानी छिर्ने सडकमा ३÷४ घण्टा जाम नपरे यात्रीले काठमाण्डौ गए जस्तो अनुभव नगर्ने अवस्था आईसक्यो । राजधानी छिरेपछि थानकोटदेखि कलंकी पुग्न पनि घण्टौं लाग्ने अवस्था उत्तिकै छ । अहिले मुग्लिन पोखरा सडक योजनाको काम हुँदै छ । आयोजनाको म्याद सकिन लाग्दासमेत ठेकेदार कम्पनीले यो सडक निर्माणमा ढिलाइ गरेको थियो । सडक भत्काएर नबनाइ छाड्दा स्थानीय धूलो, फोहोरले आक्रान्त बनेका छन् भने यो सडक हुँदै यात्रा गर्नेहरुलाई साबिकभन्दा दोब्बर बढी समय लाग्ने गरेको छ । यो आयोजनाको म्याद अब एक वर्ष पनि बाँकी छैन । पूर्वी खण्डमा करिब आधा काम भए पनि पश्चिम खण्डमा आहिलेसम्म करिब १५ प्रतिशत भौतिक प्रगति छ । कामको यो गतिले सर्वसाधारणले सास्ती भोग्नुपर्ने समय लम्बिने निश्चित भएको देखाएको छ ।

Advertisement


संघीय भौतिक मन्त्रालयले अब पनि काममा ढिलाइ गरे ठेक्का सम्झौता नै तोड्ने प्रक्रिया थाल्ने चेतावनी दिएपछि कामको रफ्तार केही बढेको हो । पश्चिम खण्डको चिनिया निर्माण कम्पनी अनहुइ काइयुआन आइवे एन्ड ब्रिजले कालोपत्र सुरु गरेको छ । ठाउँ ठाउँमा बेस र सबबेसका कामसमेत भइरहेका छन् । तर यसैमा सन्तुष्ट हुने ठाउँ छैन । आयोजनाले फेब्रुअरीभित्र कमसेकम पाँच किमी सडक कालोपत्र गर्नुपर्ने लक्ष्य दिएकाले निर्माण कम्पनीले हतारमा कालोपत्र गरेको हो ।

हतारमै सही, कालोपत्र सुरु भएको छ । पोखरा महानगरसहित चार ठाउँबाट धमाधम कालोपत्र थालिएको छ । लक्ष्य पूरा भएपछि फेरि ढिलाइ गर्ने र आयोजनाको म्यादमात्र थप्ने बाटो यसलाई बनाइनु हुन्न । पृथ्वी राजमार्ग पोखरालाई बाँकी संसारसँग जोड्ने मुख्य बाटो हो । यसलाई पोखरा र गण्डकी प्रदेशको मेरुदण्ड नै मान्नुपर्छ । तीन तहकै सरकार, स्थानीय, आयोजना र सरोकारवालाले निरन्तर खबरदारी गरी सडक निर्माणको यो गति घट्न दिनुहुन्न ।

Advertisement

तपाईको प्रतिक्रिया