४४ जिल्लाका विद्यार्थी पढाइरहेको सिर्जना बहिरा मावि

समाधान संवाददाता २०८० फागुन २ गते ११:३२

लेखनाथ ।
२०४४ सालमा दुईजना शिक्षकले ७ जना विद्यार्थीहरुबाट सुरु गरेको सिर्जना बहिरा आवासीय माविमा अहिले २ सय २५ जना विद्यार्थी, २३ शिक्षक र १० जना कर्मचारीको सामूहिक प्रयासमा विद्यालय सञ्चालन हुँदै आएको छ ।


सोही मितिमा पृथ्वीचोकको चुपचाप टेलर्समा बसेर भएको कुराकानीलाई संस्थापक शिक्षक सूर्यमोहन बराल र स्व. ओम शेरचनले बहिरा विद्यार्थीहरुका लागि कल्पना गरेको विद्यालयले अहिले सार्थक रुप लिँदै पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा करिब ५ रोपनी क्षेत्रफलभित्र तीनवटा पक्की भवनका १५ वटाकोठामा ४४ जिल्लाका १ सय ५३ जना विद्यार्थीहरुलाई आवासीय रुपमा शिक्षा दिक्षा दिँदै आएको छ ।


विशेष गरी तत्कालीन समयमा सिर्जना युवा क्लब, सिर्जना विकास केन्द्र पोखरा, गण्डकी बहिरा संघ लगायत विभिन्न समाजिक संघसंस्था तथा बुद्धिजीवीहरुको सहकार्यमा स्थापना भएको सिर्जना बहिरा आवासीय विद्यालयले विभिन्न किसिमका आरोह अवरोहहरु पार गर्दै ३६ औं वर्षमा प्रवेश गरेको हो ।

Advertisement


बहिरा विद्यार्थीहरुका लागि मात्र शिक्षा दिने उद्देश्यले २०५४ सालमा निमावि, २०५७ सालमा मावि र २०६३ सालमा नेपालमा नै पहिलोपटक उच्च माविका कक्षाबाट पठनपाठन सञ्चालन गर्दै आएको सिर्जना बहिरा माविले मंगलबार विविध कार्यक्रममा साथ आफनो ३६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बहिरा विद्यार्थीहरुका लागि किताबी ज्ञानको साथमा सिपमूलक शिक्षा दिन सक्ने हो भने उनीहरुको जीवनयापनमा कुनै समस्या नआउने भएकाले अबको शैक्षिक नीतिमा विद्यार्थीहरुका लागि सिक्दै कमाउँदै खालको योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

Advertisement


कार्यक्रम उद्घाटन गर्दै शिक्षा निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले पढाइमात्र ठूलो कुरा नभई पढेपछि उनीहरुका लागि सिकाइ र के कस्तो छ भन्नेबारेमा विश्लेषण गरेर उनीहरुलाई हौसला प्रदान गर्नुु नै असल अभिभावको भूमिका रहनुपर्ने सुझाव राखेका थिए ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनीलकुमार भण्डारीले विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराएका थिए । पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्री सुवेदी, लेखनाथ नगरपालिकाका संस्थापक नगर प्रमुख शालिकग्राम पौडेल, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कास्कीका अध्यक्ष दीपक थापा लगायतले समुदाय स्तरमा सहकार्य गर्दै फरक क्षमता भएका विद्यार्थीहरुको हकहितका लागि अभिभावकहरुले पनि सांकेतिक भाषा जान्नुपर्ने सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया