लक्ष्मी आदर्श माविले स्वर्ण महोत्सव मनाउने

समाधान संवाददाता २०८० फागुन २ गते १३:५४

लेखनाथ ।
२०२५ सालमा टिनको बाकसमा सचिवालय खडा गरी स्थापना भएको कास्की जिल्लाको पूर्वीभेककै पुरानो विद्यालयका रुपमा चिनिँदै आएको लक्ष्मी आदर्श माविले त्रिदिवसीय रुपमा स्वर्ण महोत्सव मनाउने भएको छ ।


चालु शैक्षिक सत्र २०८० लाई नै स्वर्ण वर्षका रुपमा मनाउँदै आएको विद्यालयले आगामी फागुन १६,१७ र १८ गते स्वर्ण महोत्सव समापन समारोहका रुपमा मनाउन लागेको शनिबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
२०७५ सालमा नै ५० वर्ष पूरा गरेको विद्यालयले स्वर्ण महोत्सव गर्ने तयारी गरिरहँदा कोभिड महामारीका कारण स्थगित गरिएको स्वर्ण महोत्सवलाई भने यो वर्ष भव्यताका साथ मनाउने लागेको हो ।


विद्यालयको ५६ औं वार्षिकोत्सव एवं स्वर्णजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा विद्यालय स्थापना कालदेखि शैक्षिक, भौतिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरु लगायतलाई सम्मान गर्ने कार्यक्रमसमेत तय गरिएको विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले जानकारी दिएका छन् ।

Advertisement


स्वर्ण महोत्सवका सन्दर्भमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मूलसमारोह समिति र ३४ वटा विभिन्न उपसमिति गठन गरी तयारीलाई तिव्रताका साथ अगाडि बढाइएको छ ।


स्वर्ण महोत्सवका अवसरमा सबै क्षेत्र तथा वर्गलाई समेटेर विभिन्न किसिमका रचनात्मक कार्यक्रम गदै फागुन १६ गते स्वर्णजयन्ती स्तम्भको अनावरण, फागुन १७ गते स्वर्णजयन्ती प्रवेशद्वारको उद्घाटन र फागुन १८ गते मूल समारोहसहित विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशन गरिने स्मारिकाको विमोचनसहितको मूल समारोह गर्ने गरी तयारीलाई अगाडि बढाइएको हो ।

Advertisement


स्वर्णमहोत्सव तयारीका सन्दर्भमा राखिएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले स्वर्णमहोत्सवलाई प्रभावकारी तरिकाले अगाडि बढाउन भूपू विद्यार्थीदेखि अभिभावक र शिक्षकहरुले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा अनुरोध गरेका थिए ।


वडाअध्यक्ष गुरुङले स्वेदशमा नै रोक्न यसै शैक्षिक सत्रदेखि महानगरपालिकाको आर्थीक सहयोगमा विद्यार्थीहरुलाई व्यावहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्न प्लम्बिङमा ३३जना, सिलाइमा नौ जना, हेयर कटिङमा १० जना, इलेक्ट्रिकलमा १८ जना र ब्युटीपार्लरमा ५२ जना विद्यार्थीहरुको भर्ना गरी पठनपाठनलाई अगाडि बढाइएको जानकारी गराएका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्मारिका प्रकाशन उपसमितिका संयोजक चतुराखर अधिकारी र शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव जमरकटेल र पूर्वविद्यार्थीहरुको तर्फबाट पूर्वन्यायाधीश वासुदेव न्यौपाने लगायतले स्वर्ण महोत्सले विद्यालयको इतिहासिक विषयवस्तुलाई आमजनमानसमा पुर्‍याउन सक्नुपर्ने धारणा राखेका थिए । विद्यालयबाट अहिलेसम्म १५ हजार ५ सयभन्दा बढी विद्यार्थीले पठनपाठन गरिसकेको प्रारम्भिक तथ्याङ प्रस्तुत गरिएको थियो । विद्यालयमा चालु शैक्षिक सत्रमा १ हजार ६३ जना विद्यार्थीहरु छन् ।

तपाईको प्रतिक्रिया