त्रिवेणी माविको वार्षिकोत्सव

समाधान संवाददाता २०८० फागुन ४ गते १४:३७

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २७ को अर्घौचोकमा रहेको त्रिवेणी पब्लिक माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ बुधबार २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सरास्वतीको पूजापाठ तथा आरधना गरी सुरु भएको कार्यक्रममा प्राज्ञ सरुभत्त श्रेष्ठले पढाइसँगसँगै व्यवहारिक, प्रयोगात्मक, संस्कारी र समाजमा बिक्न सक्ने खालको जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।


राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका कार्यालय प्रमुख लक्ष्मण देवकोटाले गुणस्तरीय शिक्षाका नाममा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त शिक्षा दिँदै गर्दा ती प्रमाणपत्र विदेश जाने लाइसेन्समात्र बन्न नहुने जनाए । पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्री सुवेदीले अभिभावक नै पहिलो शिक्षक भएकाले आफना बालबालिकाको ज्ञान, सीप विकासलाई ध्यान दिन आग्रह गरे ।


हिसान कास्की अध्यक्ष यमबहादुर रोक्काले राज्यले संस्थागत विद्यालयलाई हेर्ने नीति नै फरक भएकाले विद्यमान शिक्षा नीति परिमार्जन गर्नुपर्ने माग गरे । विद्यालय सञ्चालक समिति अध्यक्ष राजेन्द्रमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य विष्णुप्रसाद अधिकारी, पोखरा २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग बाणिज्य संघकी महासचिव जानुका अधिकारी, एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी, शिक्षक भरत अधिकारी र राजिङ स्टार युवा क्लब अध्यक्ष विष्णु गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया