प्रादेशिक ब्लड बैंकको नयाँ भवन

समाधान संवाददाता २०८० फागुन ६ गते ११:१४

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले सिर्जनाचोकमा अत्याधुनिक प्रादेशिक रक्त सञ्चार सेवा (ब्लड बैंक) सहितको बहुउद्देश्यीय भवन बनाएको छ । गण्डकी प्रदेश स्तरको भवनको निर्माण कार्य सम्पन्न भई प्रयोगशालाका लागि उपकरण खरिद र जडानको काम भई रहेको शाखा सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।


रेडक्रस कास्कीको ४० औं वार्षिक साधारण सभासँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार नवनिर्मित भवन उद्घाटन गरे । शाखाका सभापति तथा भवन निर्माण समितिका संयोजक शर्माले सबै क्षेत्रको सहयोगमा ७ करोड ३२ लाख १३ हजार ७ सय ५८ रुपैयाँको लागत भवन बनेको बताए ।


उनले प्रादेशिक रक्त सञ्चार सेवालाई ए ग्रेडको बनाउने बताए । भवनका लागि पहिलो चरणमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ करोड ९५ लाख २१ हजार २ सय २६, युनिका फाउन्डेसन नेदरल्याण्डले ९६ लाख ७२ हजार ८ सय १७, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय ५० लाख, पोखरा महानगरपालिकाले ३८ लाख ६१ हजार ६ सय १६ सहयोग गरेको छ ।

Advertisement


कास्कीको अन्नपूर्ण, रुपा, मादी गाउँपालिका, गुप्तेश्वर महादेव गुफा, बैंक तथा वित्तीय संस्था, सहकारी, शिक्षण संस्था, उपशाखा लगायत १ सय ५४ भन्दा बढी सहयोग दाताको ४ करोड ९१ लाख १९ हजार ८सय ३१ रुपैयाँ लागतमा भवन बनेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति तथा केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डेले सबै खालका सुविधासहित गुणस्तरीय रक्त सञ्चार सेवाका लागि करिब ६ करोडको उपकरण आवश्यक पर्ने जानकारी दिए ।

सरकारी र विभिन्न क्षेत्रको सहयोगमा ७ करोड ३२ लाख लागतमा लिफ्टसहितको भवन तयार

Advertisement


सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीको प्राविधिक सहयोगमा विस २०७७ असार महिनादेखि भवनको निर्माण कार्य थालिएको हो । सिद्धार्थ कन्ट्रक्सन प्रालि काठमाडौंले भवन बनाएको हो । अहिलेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान परिसर रामघाटको विकल्पमा सिर्जनाचोकमा अन्डरग्राउन्ड पार्किङसहित ३ तले भवन सुविधा सम्पन्न भवन बनाइएको छ ।


रेडक्रस कास्कीले अपांगमैत्री लिफ्ट सहितको ब्लड बंैकको मुल भवनबाट प्रदेश स्तरको रक्त सञ्चार सेवा प्रदान गर्न थालेको छ । रेडक्रस कास्की शाखाका उपसभापति एवं प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका संयोजक धर्मराज अधिकारीले सबै क्षेत्रको सहयोगमा गण्डकी प्रदेशकै गौरव तथा महत्वकाक्षी योजनालाई सफल बनाएको दाबी गरे ।


राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले विपद् व्यवस्थापन तथा मानवीय सेवाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थामा राजनीति बर्जित हुनुपर्ने बताए । उनले रेडक्रस स्काउट जस्ता संस्थालाई राजनीतिक रुपमा हेरेर समस्या आएको उल्लेख गरे ।

‘सामाजिक र मानवीय सेवाको क्षेत्रमा काम गर्ने संस्थामा राजनीति गर्नु हुँदैन । अहिले पछिल्लो समयमा राजनीतिक स्वार्थले सबै संस्थालाई मुछने प्रयास भएको छ,’ उनले भने, ‘संस्थाका मूल्य र मान्यता अनुसार काम कर्तव्य पूरा गर्नुभन्दा पनि दलका नेतालाई रिझाउने परिपाटीको विकास भएको छ । यस्ता कामलाई सामाजिक तथा मानवीय सेवाको सूचीमा राख्न सकिन्न ।’


गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले रगतको आवश्यकता, आपतविपद्मा रेडक्रसको महत्व बढ्ने बताए । उनले मानव कल्याण सबैभन्दा ठूलो धर्म भएको उल्लेख गरे । उनले व्यक्तिगत स्वार्थ र पद प्राप्ति रेडक्रसकर्मीमा हुन नहुने अडान राखे ।


गण्डकी प्रदेश सभाका सदस्य विन्दुकुमार थापाले विशुद्ध मानवीय सेवा गर्ने विश्वव्यापी संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताए । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति प्राध्यापक सुदर्शनप्रसाद नेपालले अहिलेको केन्द्रीय समितिले सबै खालका आरोह अवरोहलाई पार गरेको जानकारी दिए । रेडक्रस असल भावनाको प्रतिक भएको उल्लेख गर्दै उनले रेडक्रसकर्मीको अर्जुनदृष्टि संस्थागत हुने बताए ।


उनले कास्की शाखाको क्रियाशीलता देश भारीको लागि अनुकरणीय भएकाले सबै जिल्लाले आत्मसाथ गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवाको भवन निर्माणमा सहयोग गर्ने १ सय ४० संस्थालाई सम्मान गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्व उपमन्त्री उमाकान्त शर्मालाई वर्ष स्वयं सेवा सम्मान प्रदान गरिएको छ । उत्कृष्ट प्रशिक्षक गणेश भण्डारी, उत्कृष्ट कर्मचारी कार्यालय सहयोगी टीकाराम पोखरेल, जुनियर तथा युवा सर्कल शिवशक्ति मावि र जुनियर तथा युवा सर्कल राष्ट्रिय माविलाई सम्मान गरिएको छ ।


कास्कीका ४८ उपशाखामध्ये सर्वोत्कृष्ट प्रथम पोखरा १२ उपशाखा, द्वितीय पोखरा ११ काहुँ उपशाखा, तृतीय पोखरा १७ उपशाखा र सान्त्वना पोखरा २५ उपशाखालाई नगदसहित पुरस्कृत गरिएको छ ।


नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री भूपतिलाल श्रेष्ठ, युनिका फाउन्डेसन नेदरल्यान्डका नेपाल प्रतिनिधि रमेश पौडेल, कास्की शाखाका उपसभापतिहरु धर्मराज अधिकारी र उर्मिला खड्का, शाखाका मन्त्री सुरेन्द्र गुरुङ, उपमन्त्री रमा न्यौपाने कोइराला लगायतले रेडक्रसले मानवीय सेवाको क्षेत्रमा गरेका कामको चर्चा गरेका थिए ।


‘मनैदेखि सेवा’ भन्ने नाराका साथ भएको ४० वार्षिक साधारण सभाले शाखाका मन्त्री सुरेन्द्र गुरुङले पेश गरेको आर्थिक वर्ष २०७९ /०८० को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष सन्तोष अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित बजेट सुधारसहित पारित गरेको छ ।

तपाईको प्रतिक्रिया