बिटी कपमा प्रिक्वाटर समिकरण पूरा

समाधान संवाददाता २०८० फागुन ७ गते १२:१४
DCIM\100GOPRO\GOPR0993.JPG

पोखरा ।
बुद्ध टोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं वीरेन स्मृति १७ औं बिटी कप खुला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलको समीकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आइतबार दोस्रो चरणका सबै खेल सकिएसँगै प्रिक्वाटर फाइनलका समीकरण पूरा भएको हो ।


बेलिज एफसी र दिव्यज्योति युवा क्लबबीच आइतबार भएको पहिलो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतिले ५–४ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गर्‍यो ।


खेलमा बेलीजका लागि नकुल तामाङले १ गोल गरेका थिए भने दिव्यज्योतिको तर्फबाट विशाल गुरुङले १ गोल गरेका थिए । कलमपोखरी र लामागाउँ टिम ‘ए’ बीच भएको दोस्रो निर्धारित समया खेल गोलरहित भएपछि टाइब्रेकरमा ९–८ गोल अन्तरले लामागाउँ विजयी बन्यो ।

Advertisement


तेस्रो खेलमा एट टु नाइनले लामागाउँ टिम ‘बि’लाई १–० गोल अन्तरले पराजित गर्‍यो । एट टु नाइनको जीतमा धुव्र घिमिरेले निर्णायक गोल गरे । चौथो खेलमा म्याक्सवेल पोखराले रत्नसमाज क्लब कस्केरीमाथि १–० गोल अन्तरले संघर्षपूर्ण जीत निकाल्यो ।


म्याक्सवेलको जीतमा अर्जुन थकालीले निर्णायक गोल गरे । अब म्याक्सवेलले प्रिक्वाटरमा तारा एफसीसँग प्रतिस्पर्धा गर्ने छ । पाँचौ खेलमा नमस्ते ब्रदर्शले मण्डला एफसीलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । नमस्तेको जीतमा शोभित भण्डारीले २ गोल र आशीष छन्त्यालले १ गोलको योगदान दिए ।

Advertisement


आइतबारको अन्तिम खेलमा एन टु क्याफेले एपेक्स काँडेमाथि ४–० गोल अन्तरले सहज जित निकाल्यो । एन टुको जीतमा विक्रान्त लामाले २ गोल गरे भने उर्गेन लिम्बु र अभय राणाले समान १ गोलको योगदान दिए । खेल संयोजक रामकाजी गुरुङका अनुसार सोमबारदेखि प्रिक्वाटरका खेल हुने छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने छ ।


यस्तै, उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफीसहित नगद १० हजार हात पार्ने छ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया