मधेश क्रिकेट च्याम्पियन

समाधान संवाददाता २०८० फागुन ८ गते ९:४०

पोखरा ।
पोखरामा भएको तेस्रो मनमोहन कप राष्ट्रिय यु १६ क्रिकेट प्रतियोगितामा मधेस प्रदेश च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार आयोजना गरेको प्रतियोगितामा मधेसले सुदूर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो ।


मधेसले नगद १ लाखका साथमा ट्रफी हात पारेको छ भने सुदूर पश्चिमले नगद ५० हजारका साथमा ट्रफी पाएको छ । प्रतियोगिताको पहिलो संस्करणसमेत मधेसले नै जितेको थियो ।


शनिबार भएको फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूर पश्चिम २०.२ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनमा समेटियो । सुदूर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । मधेसका बलर धीरेन्द्र पासवानले ४ र रोहन यादवले ३ विकेट लिए । मधेशका टिम क्याप्टेन चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान १ विकेट हात पारे ।

Advertisement

सुदूर पश्चिमलाई ५ विकेटले हराउँदै मधेश दोस्रो पटक मनमोहन कप राष्ट्रिय यु १६ राष्ट्रिय क्रिकेट च्याम्पियन


जवाफी ब्याटिङमा उत्रिएको मधेशले २०.४ ओभरमा ५ विकेट गुमाउँदै ८८ रन बनायो । मधेशका लागि प्रियाशुं कर्णले १३ रन बनाए । तर पहिलो र दोस्रो क्रमका ब्याटर राहुल अन्सारी र आदित्य मण्डल शून्यमै पेभिलियन फर्किएपछि मधेश सुरुवातमा दबाबमा परेको थियो । उनीहरुलाई सुदूर पश्चिमका डम्बर माझी र सचिन भट्टले आउट गरेका थिए । मोहमद अरमानले २० रनको योगदान दिँदा परिमार्जन यादव ३० रनमा नट आउट रहे । सुदुर पश्चिमका लागि डम्बर माझीले २, निराजन गौतम र निरज ऐरले १–१ विकेट लिए ।

Advertisement


फाइनलमा मधेस प्रदेशका धीरेन्द्र पासवान म्यान अफ दि म्याच बने । नेपाल क्रिकेट संघ (क्यान)को समन्वयमा गत माघ २८ गतेबाट सुरु भएको प्रतियोगितामा मधेश प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भए । उनले प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिँदा १० विकेट हात पारेका थिए ।


प्रतियोगितामा सुदूर पश्चिमका डम्बर माझी उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा १४ विकेट लिएका थिए भने मधेश प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बने । उनले १ सय ५२ रन बनाएका थिए ।


प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, पूर्व संघीय मन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्री लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । परिषद्का सदस्य सचिव घिसिङले युवा खेलाडी उत्पादनका लागि प्रतियोगिता सहायक हुने विश्वास व्यक्त गरे ।


मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष एवं प्रतिनिधि सभाका ठाकुर गैरेले क्यानको वार्षिक क्यालेन्डर अनुसार प्रतियोगिता गरेको जानकारी दिए । उनले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा स्थापित सेन्टरले नेपालमा राष्ट्रिय स्तरमा १६ वर्ष मुनिका खेलाडीको प्रतियोगिता गर्ने अवसर पाएको उल्लेख गरे ।


प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिता वन डे फम्र्याट अन्तर्गत २५ ओभरको लिग कम नकआउटमा लेखाइएको थियो । प्रतियोगिताको समूह ‘क’ मा कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेश थिए । प्रतियोगितामा समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल सेन्टर थिए ।

तपाईको प्रतिक्रिया