सम्पादकीयः प्रजातन्त्र उन्नत बनाउने उपाय

समाधान संवाददाता २०८० फागुन ८ गते ११:५३

फागुन ७ गते प्रजातन्त्र दिवस देशैभर मनाइएको छ । २००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो निरंकुश जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष यो मनाइन्छ । त्यही कारण नेपालीले यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का रूपमा मनाउने गरिएको छ । जनताले सही पार्टी र नेतालाई चिनेर भोट नहालेका कारण लोकतन्त्र कमजोर हुँदै छ ।

राजनीतिक दलका विभिन्न काण्ड सार्वजनिक भइरहेका छन् । जनताले परीक्षण भइसकेका दल र नेतालाई बारम्बार नेतृत्वमा पठाउँदा नेपालीको जनस्तर माथि उठ्न सकेको छैन । देशमा वैदेशिक ऋण चुलिँदै छ । देश युवाविहीनको हुँदै छ । लोकतन्त्र सही व्यवस्था भए पनि यसलाई चलाउने नेतृत्वको बेइमानीका कारण गलत हो भन्ने भाष्य निर्माण भइरहेको छ । विश्व बदलिँदै छ, नेपाल र नेपाली भने अघि गएका छौँ कि पछि निक्र्याेल गर्न नसक्ने अवस्थामा छौँ । सधै यस्तो अन्यमनस्क अवस्थाले समृद्धि सम्भव हुँदैन ।


देशमा प्रजातन्त्र स्थापना भएको लामो समय भइसकेको छ । करिब साढे सात दशकको अवधिमा कहिले सक्रिय राजतन्त्र त कहिले त्यसकै अर्काे रुप पञ्चायत व्यहोर्नु परेकाले प्रजातन्त्रको कार्यान्वयन नेपालमा उतारचढावपूर्ण छ । जहानिया राणशासनबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा सधैँजसो व्यवस्था परिवर्तनकै लागि जनताले त्याग गरेका छन्, नेतृत्व लागेको देखिन्छ । गणतन्त्र आगमनपछि पनि दलहरु सुध्रिएको र प्रजातान्त्रिक मान्यता अनुरुप चलेको देखिएको छैन । यसले चरम निराशा पैदा गरेको छ । पछिल्लो निर्वाचनपछि केही नयाँ दल र नयाँ अनुहारहरु आएका छन्, तथापि तिनीहरुमाथि पनि विश्वास गरिहाल्ने अवस्था बनेको छैन ।

Advertisement


अहिले दलहरू देश र जनताका लागिभन्दा पनि शक्ति, पद र प्रतिष्ठाका लागि रस्साकस्सी गरिरहेका छन् । शक्ति प्रदर्शन गर्ने र पदमा को पुग्नेमा अल्झिएर राष्ट्रिय हितको मुद्दा ओझेलमा परेको छ । दलहरू आ–आफ्नो दलीय शक्ति बलियो बनाउन २०८४ मा आउने चुनावका लागि कसरत गरिरहेका छन् । जनतालाई आफूतिर तान्ने र संगठित गर्ने अभियानमा सबै दलहरू लागेका छन् । दलहरूले जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारी निःशुल्क, सहज, समान बनाउनुपर्ने आजको आवश्यकता हो ।

मुलुकको नेतृत्व राजनीतिबाट हुने भएकाले यस विषयमा दलहरूले गम्भीर चासो दिनु जरुरी छ । दलहरू दलगत स्वार्थमा अल्झिनुको साटो राष्ट्रिय स्वार्थमा केन्द्रित बन्नुपर्छ । राजनीतिक दलहरूले जनतालाई व्यापक सपना बाँडेर चुनाव जितेर सत्तामा पुग्ने र सत्तामा पुगिसकेपछि कार्यान्वयनमा शून्य पहल देखिएको छ । यसलाई बदल्नै पर्छ । जुनसुकै व्यवस्था पनि आफैँ कार्यान्वयनमा जाने होइन । राजनीति नेतृत्व, कर्मचारी संयन्त्र जजसलाई दोष दिए पनि मुलुक बिग्रिदाको अवस्थामा भागिदार सबै नेपाली हुनुपर्छ । प्रजातान्त्रिक मूल्य, मान्यताअनुरुप काम गर्न प्रजातन्त्र दिवसले सबैलाई प्रेरणा दिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया