सम्पादकीय: साहित्य महोत्सवले दिएको सन्देश

समाधान संवाददाता २०८० फागुन ९ गते १२:०१

बुकवर्म फाउन्डेसनको आयोजनामा पोखरामा ३ देखि ७ फागुनसम्म नेपाल लिटरेचर फेस्टिभल भयो । जसमा देश र विदेशदेखि २ सय पाहुना आए । ३० औं हजारभन्दा बढीले सहभागिता जनाए । हलिउडको चर्चित पुरस्कार ओस्कारमा यो वर्ष सबैभन्दा बढी विधामा मनोनित फिल्म ओपन हाइमरका लेखक काइ बर्ड, जो पुलित्जर पुरस्कार विजेता पनि हुन्देखि भारत र म्यान्मरबाटसम्म आएका लेखकको जमघले पोखरालाई पूरै साता साहित्यमय बनायो । राजनीतिकर्म, पत्रकार, लेखक, साहित्यकार, विषय विज्ञहरुले गर्मागर्मी छलफल गरे । विचार विमर्श भयो ।


वास्तवमा यस्ता फेस्टिभलले ज्ञान उत्पादन र प्रसारमा मद्दत पुर्‍याउँछन् । लिटरेचर फेस्टिभले पनि त्यसमानेमा सन् २०१६ देखि नै पोखराबाट योगदान पुर्‍याउँदै आएको छ । पोखरामा हिमाल र तालको सौन्दर्यसँगै अर्काे विशेषता यो फेस्टिभलले थपेको छ । पोखराको ब्रान्डको रुपमा फेस्टिभल स्थापित हुँदै गएको छ । पोखराको पहिचानमा यो फेस्टिभल पनि थपिएको छ । पोखरा महानगरपालिकाले फेस्टिभलको अपनत्व ग्रहण गर्दै प्रवद्र्धनात्मक जुन भूमिका निर्वाह गरेको छ, त्यो सह्रानीय छ । गण्डकी प्रदेश सरकारले समेत फेस्टिभललाई जसरी सहयोग प्रदान गरेको छ, त्यो पनि प्रशसंनीय छ ।


सहरको निर्माण ठूलाठूला गगनचुम्बी घर र भवनहरुले मात्रै गर्दैनन् । ठूला र फराकिला सडकहरुले मात्रै गर्दैनन् । विकासको सूचक, बिजुली बत्ती र झिलिमिलीमात्रै होइन । पुस्तकालयहरु हुन्, संग्रहालयहरु हुन् । पुस्तक पठन र लेखनको संस्कृति हो । नेपाल लिटरेचर फेस्टिभल पुस्तक पठन र लेखन संस्कृति विकासका लागि प्रेरकस्थल बनेको छ । सार्वजनिक बहसको थलोका रुपमा पनि नेपाल लिटरेचर फेस्टिभल आकर्षक मञ्च बनेको छ । लोकतन्त्रलाई बलियो बनाउने भनेको सार्वजनिक बहसहरुले हो । जहाँ विचारको आदानप्रदान हुन्छ र अभिव्यक्ति स्वतन्त्रको भरपूर अभ्यास हुन्छ, त्यहाँको लोकतन्त्र नै बलियो हुन्छ ।

Advertisement

लिटरेचर फेस्टिभलले साहित्यका अलावा जसरी राजनीति, अर्थतन्त्र, विज्ञान र वातावरण लगायत समसामयिक विषयहरुमा बहस र मन्थन चलाएको छ, त्यो वास्तवमा लोकतन्त्रका लागि सुन्दर उपहार हो । फेस्टिभलको यसपालिको संस्करणमा जसरी ३० औं हजारजनाको उपस्थिति र सहभागिता भएको छ, त्यसले यस्ता फेस्टिभलको महत्व उजागर गरेको छ । र, सार्वजनिक बहस र लेखन तथा पठन संस्कृतिको महत्व झनै बढ्दै गएको तथा नेपालीहरुमा त्यसप्रतिको अभिरुचि अभिवृद्धि भएको सन्देश दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया