१ सय ५ युनिट रगत संकलन

समाधान संवाददाता २०८० फागुन १० गते १३:१६

पोखरा ।
टीम पोखरा मल्टिपर्पोज प्रालिले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । युवा व्यवसायीहरुद्वारा स्थापित टीम पोखरा मल्टि पर्पोज प्रालिको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन् ।


पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका संयोजक प्रालिका सदस्य दिनेशकुमार जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले युवाहरु विदेश पलायन भइरहेको परिप्रेक्षमा युवा व्यवसायीहरुद्वारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रालिले व्यवसायसँगै सामाजिक कामलाई अनुसरण गरेर अगाडि बढेकोमा धन्यवाद व्यक्त गरे ।


टीम पोखरा मल्टिपर्पोज प्रालिले आगामी दिनमा आयोजना गर्ने सामाजिक तथा व्यावसायिक क्रियाकलामा सहकार्य गरेर अगाडि बढ्ने वडाध्यक्ष बरालको भनाइ थियो । समाजसेवी राजु पौडेलले युवाहरु विदेश पलायन भइरहँदा युवाहरुले व्यवसाय सञ्चालन गरी संस्था स्थापना गरी सामाजिक कार्य गरेकोमा सामाजिक कामप्रति आभार प्रकट गर्दै सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।

Advertisement


नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष पूर्णशोभा गुरुङले व्यवसायीहरुले आफ्नो व्यवसायसँगै सामाजिक क्रियाकलापलाई अगाडि बढाएकोमा धन्यवाद व्यक्त गरिन् ।


नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र गण्डकीका प्रतिनिधि यमुना केसीले हरेक ३/३ महिनामा खेर गइरहने रगतलाई रक्तदान गरी रगतको अभावलाई पूरा गर्न सहयोग गरेकोमा रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गरिन् ।

Advertisement


टीम पोखरा मल्टिपर्पोज प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्कल ढकालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका संयोजक दिनेशकुमार जिसीले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव रावत लामाले गरेका थिए ।

तपाईको प्रतिक्रिया