फागुन १३ देखि दादुरा रुबेला खोप अभियान

समाधान संवाददाता २०८० फागुन ११ गते १०:३७

पोखरा ।
गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आगामी १३ फागुन २०८० देखि राष्ट्रिय दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । देशव्यापी अभियानअन्तर्गत मनाङ, मुस्ताङ बाहेकका ९ जिल्लामा अभियान सञ्चालन हुने स्वास्थ्य निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले बताए ।


विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा अभियान सञ्चालन गर्न लागिएको हो । अभियानबारे सञ्चारकर्मीसँग भएको अभिमुखीकरण कार्यक्रममा महानिर्देशक शर्माले प्रदेशका २ लाख ५३ हजार ३५ बाल बालिकालाई खोप लगाउने लक्ष्य सुनाए ।


उनले कास्कीका ३४ हजार ९ सय २६ बालबालिकालाई खोप लगाउने उल्लेख गरे । अभियानका लागि २ हजार ८ सय ८९ स्वास्थ्यकर्मी र ५ हजार ७ सय ७८ स्वयंसेवक परिचालन गर्ने कार्यक्रम छ । उनले ९ महिना देखि ५ वर्ष भित्रका उमेर समूहका सबै बालबालिकालाई दादुरा रुबेला खोप र नियमित खोप लगाउन छुट भएका ५ वर्ष मुनिका बालबालिकालाई छुट खोपको मात्रासमेत प्रदान गरिने बताए ।

Advertisement


नवलपरासी बर्दघाट पूर्वमा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप दिने कार्यक्रम छ । ‘दादुरा रुबेला रोग उन्मूलनका लागि सरकारले २०२० देखि २०२४ सम्मका लागि रणनीतिक योजना बनाएको छ,’ उनले भने, ‘अभियानमा ९५ प्रतिशत खोप सुनिश्चितका प्रगति प्राप्ति र निरन्तरता आवश्यक पर्छ ।’


उनले सबै स्थानीय तहमा खोपको प्रगतिमा एकरुपता नरहेको (९५ प्रतिशत भन्दाकम) जानकारी दिए । उनले सन २०२२ र ०२३को अवधिमा नेपालमा दादुरा महामारीको रुपमा फैलिएको बताए । नेपालमा यस वर्ष १८ जिल्लाका २० ठाउँमा महामारीको फैलिएर करिब १३ हजार मानिस प्रभावित भएको उल्लेख गरे ।

Advertisement


उनले गण्डकी प्रदेशको तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा दादुरा रुबेला महामारीको रुपमा देखा परेको बताए । उनले दादुरा रुबेला निवारणका लागि खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा रामु शर्माले खोप सुरक्षित र प्रभावकारी भएको बताए । उनले खोप लगाएपछि संयोगबस घटना हुन सक्ने उल्लेख गरे ।


स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सूचना अधिकारीले नेपालबाट दादुरा रुबेलाको निवारण गर्ने दायित्व पूरा गरी स्वास्थ नागरिक तयार गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताए । निर्देशक विनोदविन्दु शर्माले गण्डकी प्रदेशलाई पहिलो खोप सुनिश्चित प्रदेश घोषणा गरेको बताए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४५ वर्षदेखि दादुरा खोप र विगत १२ वर्षदेखि रुबेला खोप सयुक्त रुपमा सञ्चालन गर्दै आएको छ । हरेक ४ वर्षमा खोप अभियान सञ्चालन हुन्छ । सरकारले सन २०२६ सम्ममा नेपालबाट दादुरा र रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया