सम्पादकीयः हरित परियोजना

समाधान संवाददाता २०८० फागुन ११ गते ११:४५

फोहोर व्यवस्थापन पोखरा सहरलाई चुनौती बनिरहेको छ । ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै बन्द भयो । अस्थायी ल्यान्डफिल साइटमा बाधा अवरोध भइरहेको छ । बेलाबखत फोहोर सडकमै थुप्रिन्छ । तर अब पोखराको फोहोर ल्यान्डफिल साइटमा लगेर थुपार्ने पुरानै तरिका अपनाउन हुँदैन । यसमा महानगरपालिका स्वयं पनि सहमत देखिन्छ । अब त फोहोरको वर्गीकरण गरी व्यवस्थापन गर्नुपर्छ । वर्गीकरण गर्नुको मतलब के हो भने कुहिने फोहोर एकातिर, नकुहिनेमात्रै नभई पुनप्रयोग गर्न मिल्ने र प्रशोधन गर्न मिल्ने फोहोर छुट्याउनु हो । पुनप्रयोग र प्रशोधन नगरी अबका दिनमा फोहोरको वैज्ञानिक व्यवस्थापन हुँदैन ।


विकसित देशहरुमा फोहोरबाटै बिजुलीसमेत निकालिन्छ । फोहोर पानी प्रशोधन गरी पुनप्रयोगयोग्य बनाइन्छ । तर हामीकहाँ फोहोर थन्क्याउनकै लागि करोडौं रुपैयाँ खर्च भइरहेको छ । जब कि फोहोर पनि आम्दानीको साधन हुन सक्छ । यसबीचमा पोखराले हरित परियोजनामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)सँग सम्झौता गरेको छ । त्यसको मक्सद हरित रोजगारी सिर्जना गर्नु पनि हो । परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्ने छन् ।


भनेजस्तो भयो भने यो परियोजना पोखराको अर्काे पर्यटकीय गन्तव्य पनि हुनेछ । सिकाइ केन्द्र हुनेछ । फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सिक्न आउने ठाउँ बन्न सक्छ । हो, साँच्चीकै त्यस्तै केन्द्र नबनाईचाहिँ अबलाई धरै छैन । त्यसो गरिएन भने पोखरा सुन्दर सहर होइन फोहोर सहर हुन्छ । प्रदूषित सहर हुन्छ । सहरलाई सहर बनाउने भनेको व्यवस्थापनले नै हो ।

Advertisement

त्यसमध्ये पनि सबैभन्दा पहिलो सर्त भनेको सरसफाइ हो । सभ्यताको परिचय सफाइले दिन्छ । संस्कृतिले दिन्छ । सफाइ संस्कृतिबिना सभ्य सहरको परिकल्पना गर्न सकिन्न । हाम्रा परियोजनाहरु भने सुन्दा निकै आकर्षक हुन्छन् । तर कार्यान्वयन भने दिक्क लाग्दो । हरित परियोजना र हरित रोजगारीको सन्दर्भमा भने त्यो प्रवृत्तिको पुनरावृत्ति नहोस् भन्ने शुभकामना । र, पोखरा फोहोर व्यवस्थापनको सिकाइ केन्द्र बनोस् । हरित रोजगारी सिर्जना होस् । हरित ऊर्जा उत्पादन होस् । हरित पर्यटन प्रवद्र्धन पनि होस् ।

Advertisement

तपाईको प्रतिक्रिया