सम्पादकीयः त्रिवि उपकुलपति बरालका अभिभारा

समाधान संवाददाता २०८० फागुन १४ गते ११:५५

त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलोपटक प्रतिस्पर्धात्मक तरिकाबाट उपकुलपति नियुक्ति भएको छ । त्यो जिम्मेवारी पाल्पामा जन्मिएर पोखरालाई कर्मथलो बनाएका प्राडा केशरजंग बराल मगरले पाएका छन् । पोखरा विश्वविद्यालयको उपकुलति भइसकेका बरालले मुलुकको सबैभन्दा जेठो विश्वविद्यालयको नेतृत्वको जिम्मेवारी यस्तो बेला पाएका छन्, जतिबेला इतिहासमै यो विश्वविद्यालयको साख सबैभन्दा कमजोर छ । बरालको पहिलो कार्यभार नै विश्वविद्यालयको साख फर्काउने र अझै माथि उचाइमा पुर्‍याउने हो । प्राडा बरालले उपकुलपति आफै एक्लैले विश्वविद्यालय सुधार्न नसक्ने बताइसकेका छन्, जुन सत्य हो । व्यावहारिक हो ।


त्रिभुवन विश्वविद्यालयमा भने जति पढाइ नै हुँदैन, बेलामा परीक्षा हुँदैन र बेलामा परीक्षाफल पनि निस्किँदैन । पढाइभन्दा ज्यादा त्यहाँ राजनीति हुन्छ । पहिलो सुरुआत राजनीतिक हस्तक्षेप र गतिविधिबाट विश्वविद्यालयलाई टाढा राख्नुपर्छ । त्यसका लागि उपकुलपतिले चाहेरमात्रै हुँदैन । उसले सबै दलहरुसँग समन्वय गरी सहयोग र साथ लिन सक्नुपर्छ । दलीय भागबन्डा अनुसार उपकुलपति नियुक्ति नगर्ने कुलपति तथा प्रधानमन्त्रीको जुन उद्घोष थियो, त्यसै अनुसार पनि प्राडा बराल नियुक्त भएका छन् ।

बरालले आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री जो आफैमा राजनीतिक नेता नै हुन्छ, ऊप्रतिभन्दा बढी विश्वविद्यालयप्रति जवाफदेही भएर अघि बढ्नुपर्छ । राजनीतिक हस्तक्षेपलाई सबैभन्दा पहिला प्रधानमन्त्रीबाटै रोक्न सक्ने सामथ्र्य प्राडा बरालले राख्नुपर्छ । दलका विद्यार्थी संस्थाहरु विश्वविद्यालयबाट खारेज गरिनुपर्छ । स्वतन्त्र विद्यार्थी युनियनकै पनि औचित्य समाप्त भइसकेको बरु विभागविभाग (जो स्कुल बनायँदैछन्)मा समन्वय र सिर्जनशील सहकार्यका लागि अनौपचारिक क्लबहरु विद्यार्थी आफैले बनाउन सक्छन् । आमचुनावभन्दा चर्काे हुने स्ववियु चुनावको जरुरी विश्वविद्यालयमा छैन ।

Advertisement


आर्थिकमात्रै नभई नैतिक भ्रष्टाचारको चंगुलमा छ त्रिभुवन विश्वविद्यालय । स्थिति बसाल्ने र हरेक प्राध्यापक तथा कर्मचारीलाई जवाफदेही बनाउँदै कर्तव्यपथमा डो¥याउने नेतृत्वदायी भूमिका प्राडा बरालले उपकुलपतिका हैसियमा गर्नुपर्छ । समय तालिका नै बनाएर पढाइ गराउने, परीक्षा लिने र बेलामा परीक्षाफल निकाल्ने त सुधारको अनिवार्य आवश्यकता हो । स्नातक तहलाई ३ वर्षे बनाउने कि ४ वर्षे भन्दा पहिला गर्नुपर्ने पढाइ, परीक्षा र परीक्षाफल हो । त्यसपछि स्नातक तहको अवधि फेरबदल गर्दा बेस हुन्छ ।

पाठ्यक्रममै पनि जुन अद्यावधिक गरिरहनुपर्ने हुन्छ, त्यसका लागि प्रणाली बसाउनुपर्छ । हचुवामा पाठ्यक्रम बदलिरहने वा बदल्ने गर्नु हुँदैन । थिति बसालेपछि आउँदा दिनमा जो उपकुलपति भए पनि त्यही रीत चलिरहन्छ, समयको आवश्यकता माग बमोजिम पढाइ हुनुपर्छ । तर, विश्वविद्यालय भनेको बजारबाट मात्रै निर्देशित हुनु हुँदैन । राज्य र समाजको आवश्यकता सम्बोधन गर्नुपर्ने गुरुत्वत्तर दायित्व त झन् निर्वाह गर्नैपर्छ ।

Advertisement

बजारमा नचल्ने तर राज्यको आवश्यकता हुने विषयको पढाइ तथा विभाग खारेज गर्नु हुँदैन । दलीय हस्तक्षेप रोक्ने, पढाइ नियमित गराउने र परीक्षाफल बेलामा निकाल्नेबाट मात्रै त्रिविको सुधार सुरुआत गर्न सक्ने साख फर्कने बेर लाग्दैन । त्यसपछिका सुधार क्रमशः गर्दै जानुपर्छ । अहिलेलाई प्राडा बरालका प्रमुख कार्यभार तिनै हुन् । उनको कार्यकाल कुशल, असल र सफल हुनुपर्छ, त्यो अनिवार्य छ ।

तपाईको प्रतिक्रिया