सम्पादकीयः खोपबाट दादुरा, रुबेला निवारण

समाधान संवाददाता २०८० फागुन १६ गते १२:१५

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा पाउने तथा स्वास्थ्य सेवामा सबैको पहुँचको हक हुने व्यवस्था गरेको छ । नागरिकलाई स्वस्थ बनाउन सरकारले जनस्वास्थ्य सेवाको अलवा राष्ट्रिय स्तरको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन तहको सरकारको समन्वयमा देशव्यापी रुपमा १३ फागुन २०८० देखि राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८० सञ्चालन गरेको छ ।


नेपालमा खोप मार्फत मातृ तथा नवजात शिशुहरुमा हुने धनुष्टंकारको निवारण भएको छ । पोलियो रोगको शुन्य अवस्था पुग्नुको साथै दादुरा रुवेला रोकथाम तथा नियन्त्रण हुँदै गएको अवस्था छ । बाल बालिकालाई प्राणघातक रोगबाट जोगाउन सरकारबाट देशैभर नियमित रुपमा राष्ट्रिय खोप कार्यक्रम मार्फत १३ वडा रोग बिरुद्ध खोप प्रदान हुर्दै आएको छ ।


दादुरा अति छिटो सर्ने संक्रामक रोग हो । रुबेला पनि दादुरा जस्तै देखिने संक्रामक रोग हो । विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्ने यो रोगले छिट्टै महामारीको रुप पनि लिन सक्दछ । त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।

Advertisement


नेपालमा पहिलोपटक सन् २००४ देखि दादुरा रुबेला खोप सुरुवात भएको हो । त्यसयता प्रत्येक ४/४ वर्षमा खोप अभियान हुँदै आएको छ । नेपालमा विगत ४५ वर्षदेखि दादुरा खोप र विगत १२ वर्षदेखि रुबेला खोप सयुक्त रुपमा सञ्चालन गर्दै आएको छ । नेपाल सरकारले प्रदान गरेका नियमित खोपहरु सुरक्षित, प्रभावकारी र निःशुल्क छन् । सहज वा असहज परिस्थितिमा पनि सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन आवश्यक छ ।


दादुरा रुबेला रोग उन्मुलनको लागि सरकारले सन २०२०देखि २०२४सम्मको लागि रणनीतिक योजना बनाएर काम गरेको छ । अहिलेको खोप अभियानमा ९५ प्रतिशत खोप सुनिश्चितको प्रगति प्राप्ति र निरन्तरता आवश्यक पर्छ । सबै स्थानीय तहमा खोपको प्रगतिमा एक रुपता नरहेको (९५ प्रतिशत भन्दा कम) अवस्था छ । नेपालले सन २०१९ र २०२३सम्ममा दादुरा रुबेला रोगको उन्मुलन गर्ने लक्ष्य लिएको थियो । सन २०२२ र ०२३को अवधिमा दादुरा महामारीको रुपमा फैलिएको त्यो सम्भव भएन ।

Advertisement


नेपालबाट दादुरा रुबेलाको निवारण गर्ने दायित्व पुरा गरी स्वास्थ नागरिक तयार गर्ने दिशामा अगाडी बढ्नु पर्छ । दादुरा रुबेलाबाट बाल बालिकाको स्वास्थ्यमा पर्ने जोखिम तथा मृत्युलाई न्यूनीकरण गर्दै सरकारले सन २०२६सम्ममा नेपालबाट दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य लिएको छ । खोप अभियानमा हातमालो गरी कुनैपनि बाल बालिका नछुट्ने सुनिश्चित गर्नु पर्छ । सबैले प्रण गरेर दादुरा रुबेला निवारणको लागि खोप अभियानलाई प्रभावकारी बनाउनु पर्छ ।

तपाईको प्रतिक्रिया