सम्पादकीय: पोखराका घर, भवनको मापदण्ड

समाधान संवाददाता २०८० फागुन १७ गते १२:०५

पोखरामै हिमाल छैन, तर यो हिमालको सहर हो । यहाँबाट ४० किलोमिटरको हवाई दुरीमा छ माछापुच्छ्रे हिमाल जसको प्रतिबिम्व फेवातालमो छचल्किन्छ । संसारका ८ हजार मिटर अग्ला १४ मध्ये ३ हिमाल देखिने एउटै सहर पोखरा हो । शिरमा हिमाल छैन त पोखराको पहिचान छैन । तिनै हिमालहरु छेकिने गरी केही दसकयता धमाधम अग्ला घरहरु बने पोखरामा । भन्न त साढे २ तलेमात्रै घर बनाउने भनेर जमानामा नीति बनाइयो । पञ्चायतकालमै ३० को दसकमा त्यस्तो नियम बन्यो, मापदण्ड बन्यो । त्यसै अनुसार बैदाम (लेकसाइड) र न्युरोडतिर ऊ बेलाकै मापदण्डअनुसार बनेका छन् ती कतिपय बाँकी छन् । तर सहर यसरी भरिएको छ कि यो मानव आवास हैन, कंक्रिटको जंगल हो ।


४६ सालमा बहुदलीय व्यवस्था पुनस्थापना भएपछि घर तथा भवन निर्माणमा बेथिति सुरु भयो । न फेवाताल किनारमा घर, भवन बनाउन रोकिए, न अन्त । सक्ने जतिले सकेको मापदण्ड मिच्दै गगनचुम्बी घर बनाए । नगरपालिकामा साढे २ तलाको अनुमति लिने तर बनाउनेचाहिँ दसौं तलाको भयो । हालैको पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले यो सहरमा कति अग्ला घर तथा भवन बनाउने र कसरी भन्ने मापदण्ड बनाएको छ । खासमा औपचारिक ढंगले यसरी मापदण्ड बनेकै ५० वर्षपछि हो भन्दा पनि हुन्छ । ३० को दसकपछि खासै मापदण्ड गम्भीर विषय बनेन र त्यसको पालना नगर्नुमै नगरवासीले महान् ठाने, तिनलाई कारबाही नगर्ने पदाधिकारी र कर्मचारी नगरपालिकामा हाबी भए ।


५ तले घर बनाउन माटो परीक्षण गर्नु नपर्ने, त्यसभन्दा अग्ला बनाउन लिफ्ट राख्नुपर्ने मापदण्ड आएको छ । अग्ला भवन कहाँ बनाउन पाइने, कहाँ नपाइने पनि मापदण्ड बनेको छ । नदीका किनार, भीर र डिलहरुमा जोखिम छ भनेर त्यहाँ पनि मापदण्ड लगाइएको छ । मुख्य सडकका घर तथा भवनमा पार्किङ अनिवार्य हुनुपर्ने भनिएको छ । मुख्य बजारमा अन्डरग्राउन्ड पार्किङ अनिवार्य गरिएको छ । खासमा हिमाल नछेक्ने गरी नै घर बनाउने मापदण्ड भएको भए अझै जाती हुन्थ्यो । चेकोस्लोभाकियाको सहर प्रागमा जस्तै घरहरुमा एकरुपता ल्याउने व्यवस्था भएको भए जाती हुन्थ्यो ।

Advertisement

जसले जस्तो मनलाग्यो उस्तै डिजाइनको घर बनाउन नपाइने मापदण्ड बनाएर पोखरालाई मौलिक शैलीको सहर बनाउनुपर्छ । खासमा महानगरपालिकाले बनाएको जुन मापदण्ड छ, त्यसमा पहिलो समस्या भनेको यसको कार्यान्वयन नै हो भन्नेमा शंका छैन । महानगरपालिकाले कडाइका साथ मापदण्ड लागु गर्ने र जथाभावी घर अग्ल्याउन दिनु हुँदैन । छेउछाउतिर अग्ला भवन र अपार्टमेन्टहरु बनाउन दिएर मध्य सहरको जुनसुकै ठाउँबाट हिमाल देखिने बनाउनुपर्छ । सहर खुला पनि राखिनुपर्छ । यहाँकाको माटोले पनि सास फेर्न पाउनुपर्छ । घरैघर र घरैघर बनाएर क्रंक्रिटको जंगल बनायौं भने मान्छेले पनि सास फेर्न नसक्ने वा नपाउने वातावरण सिर्जना हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया