कागबेनी र मुक्तिनाथमा ट्राफिक राखिने

सुन्दरकुमार थकाली २०८० फागुन १७ गते १२:५१

जोमसोम ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले आर्थिक वर्ष २०८०—०८१ मा १ सय ९० फरार अपराधी पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदाय प्रहरी साझेदारी अयियानका क्रममा भए गरेका कार्य सार्वजनिकीकरण तथा नागरिकको सुझाव संकलन गर्ने उद्देश्यले आयोजित नागरिक सुनुवाइमा यस्तो जानकारी दिइएको हो ।


मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेयले चालु वर्ष ६ फरार अभियुक्त पक्राउ गर्नु पर्ने मापदण्ड रहे पनि यहाँबाट ११ जना फरार पक्राउ परेको जानकारी दिए । उनले प्रहरीको बर्दीसँग नागरिक डराउनु नपर्ने बताए । प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा उनको जोड छ ।


सम्वन्ध हुन्छ । नागरिक बिना प्रहरी र प्रहरी बिनाको नागरिक शान्ति सुरक्षा र अपराध नियन्त्रण अपूर्ण हुँने दावी गरे । मुस्ताङमा सडक सञ्जाल सहज हुँदै गएपछि हुन सक्ने अपराध र विभिन्न घटनाबारे प्रहरी सचेत रहेको डिएसपी पाण्डेयले उल्लेख गरे । ‘म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र घासाबाट उत्तरी कोरलानाकासम्म सुरक्षा निकायलाई कडाई गरिएको छ, राष्ट्रिय राजमार्गमा प्रहरीले कडा चेकजाँच गरिरहेको छ, ’डिएसपी पाण्डेयले भने ।

Advertisement


उनले मुस्ताङमा सार्वजनिक जग्गामा अनाधिकृत तवरले घरटहरा बनाउन थालिएकाले त्यसलाई प्रशासन र प्रहरीको पहलमा नियन्त्रण गर्न थालिएको जानकारी दिए । ‘हामीले वारागुङ र घरपझोङ गाउँपालिकामा केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाउन थालेको सूचना पायौं, त्यसलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ,’ डिएसपी पाण्डेयले भने । चाडै कागबेनी, मुक्तिनाथ र लोमान्थाङमा ट्राफिक प्रहरीको व्यवस्था गरिने भएको छ ।


उनले होटलहरुमा पर्यटक आगन्तुक पुस्तिका राखी विवरण संकलन गरेमा सम्भावित घटना न्यूनीकरण तथा अपराध अनुसन्धानमा टेवा पुग्ने बताए । हालसम्म स्थानीय तहको सहयोग र अन्य स्रोतबाट जडान गरिएका सिसी क्यामेरा चालु अवस्थामा रहेको र तिनको मर्मत सम्भारका लागि जिल्ला प्रहरी कार्यालय व्यवस्था गरिसकेको उनले जनाए । मुस्ताङमा प्रहरीका १९ इकाइमध्ये अधिकांशका भवन जीर्ण रहेको उनको भनाइ छ ।

Advertisement


घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले आफूले पाउने तलब, भत्ताले सदरमुकाम जोमसोममा ‘स्टेट लाइट’ जडान गर्ने बताए । ‘मेरो सबै तलब, भत्ता सञ्चित गरेको छु,’ अध्यक्ष लालचनले थपे, ‘मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई थप आकर्षित गर्न चालु आर्थिक वर्षभित्रै जोमसोममा इलेक्ट्रिक स्टेट लाइट बल्छ ।’


अध्यक्ष लालचनले कालिगण्डकी नदीमाका प्राकृतिक स्रोत, साधन उत्खनन र बिक्री गर्न अदालतको फैसलाले अप्ठ्यारो पारेको बताए । ‘एक्याप रहेका १६ जिल्लामा प्राकृतिक स्रोत साधन उपयोग गर्न सकिएको छैन, प्रदेशले पनि यो कुरालाई जोडतोडले केन्द्रमा उठाएको अवस्था हो,’ अध्यक्ष लालचनले भने ।

गाउँपालिकाले जोमसोममा दुई बसपार्क निर्माण भई प्रयोगमा ल्याउन ठेक्का सम्झौता भइसकेको र यसले चाँडै मूर्तरुप पाउने उनले जनाए । पालिका अध्यक्ष लालचने जोमसोम अस्पतालमा सेवाग्राहीका अनेक समस्या रहेको औंल्याए । पर्याप्त पूर्वाधार भएर पनि जोमसोम अस्पतालमा दक्ष चिकित्सक नभएको र यसअघि प्रदेश सरकारकै स्रोतबाट एमडिजिपी चिकित्सक व्यवस्थापन भएको उनले सुनाए ।


यसअघि, घरपझोङ गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय मुस्ताङ परिसरमा बनेको शौचालय अध्यक्ष लालचनले उद्घाटन गरेका थिए । गाउँपालिकाले ५ लाख खर्च गरी शौचालय निर्माण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले यातायात व्यवसायी र स्थानीय तह बसेर सवारी भाडादर समायोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया