टिकटकको प्रतिबन्ध र सद्भावको चिन्ता

प्रमिला कुँवर २०८० फागुन १८ गते १२:०५

पछिल्लो समय लोकप्रिय र प्रभावकारी रहेको सामाजिक सञ्जाल टिकटकमाथि नेपाल सरकाले प्रतिबन्ध लगाएको छ । सरकारको यो निर्णय, गैरकानुनी र गलत हो भन्नेमा दुईमत छैन । सामाजिक सद्भाव बिथोल्ने एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको तथ्यलाई उल्लेख गर्दै सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
यस्ता सामाजिक सञ्जाललाई नियमन गरी सञ्चालन गर्न सकिएन भने आंशिक वा पूर्णरुपमा बन्द लगाउन पनि सकिन्छ, यो संसारभरि अहिले चलिरहेका अभ्यास हो, यसरी पूर्ण रुपमा बन्देज लगाउनु समस्याको समाधान होइन ।


टिकटक अभिव्यक्तिका लागि एक प्रमुख नयाँ विकल्पको रुपमा छ । आसा, भरोसा र विश्वास गरेका नेता, जनप्रतिनिधिले जनताका लागि काम गर्न सकेका छैनन् । जनताले राजनीतिक दलप्रतिको आलोचना र सरकारको कामप्रति वितृष्णालाई सामाजिक सञ्जालमा देखाउने भएकाले पनि सरकार र प्रमुख दलहरुले आलोचना रोक्न टिकटक नै बन्द गराउने निर्णयमा पुगेको देखिन्छ ।


राणाशासन कालमा १९८४ सालमा चन्द्रशम्शेर राणा प्रधानमन्त्री हुँदा नेपालमा रेडियोको प्रवेश भएको थियो तर सर्वसाधारणले अनुमति नलिई रेडियो सुनेमा जेलसजाय समेत हुन्थ्यो । रेडियो सेट राख्न राणा सरकारसँग अनुमति लिनुपथ्र्याे । लगभग १०० सय वर्ष पछि २०८४ मा आइपुग्दा नेपाल लोकतान्त्रिक राष्ट्र भएको छ । लोकतन्त्रमा जनताका हक र अधिकार सूनिश्चित गरिएका छन् । तर लोकतन्त्रले नै जनताको सूचनाको हक खोसेको छ । टिकटकले समाचार सम्प्रेषण गरेको थियो ।

Advertisement


टिकटकबाट धेरै राम्रा कुराहरू सिकेका र देश विदेशमा भएका घटनाहरू सजिलैसँग थाहा पाएको सर्वसाधारणले धारणा व्यक्त गरेका छन् । टिकटबाट आफ्नो कला, व्यवसायको प्रचार–प्रसार गर्नुका साथै सूचनाको माध्यमको रुपमा लिएकाहरुले अधिकार हनन भएको आरोप लगाएका छन् ।


टिकटकले व्यवसाय प्रर्वद्धनमा धेरै सहयोग भएको थियो । टिकटक लाइभ बसेर कमाएको रकम गरिब, असहाय, विपन्न लगायत प्राकृतिक प्रकोपको समस्यामा परेकाहरूलाई सहयोग गरेको सामाजिक सञ्जालमा देखिन्छ । टिकटकले आत्मनिर्भर बनेको, आफ्ना आवश्यकताहरु शिक्षादेखि लवाइखवाई सब टिकटकको कमाइबाट गरेकाहरुको संख्या पनि उल्लेख्य छ । यो दृष्टिकोणबाट हेर्दा अहिलेको पुस्ताले टिकटकबाट धेरै नै फाइदा लिन सक्ने देखिन्छ ।

Advertisement

स–साना काम लागि पनि टिकटककै खोजी हुन थालेको थियो, घरजग्गा कारोबारदेखि कोठा खोज्ने कामसम्म टिकटकको प्रयोगले सजिलो भएको थियो


टिकटकले कला क्षेत्रमा पनि सहयोग भएको छ । टिकटक मनोरञ्जन मात्र होइन आफ्नो प्रतिभा निखार्ने माध्यम पनि बनेको छ । धेरैले यसबाट आफ्नो प्रतिभा विश्वका दर्शक समक्ष प्रस्तुत गरेर नेपालको पहिचान वृद्धि गरेको भन्दै बलियो तर्क गरेका छन् । नयाँ गीत आएको टिकटकमार्फत थाहा हुन्थ्यो भने गीतको प्रचार गर्न पनि टिकटक राम्रो माध्यम बनेको थियो । नेपाली गीत संगीत बजारलाई उचाईमा पु¥याउन टिकटकको पनि ठूलो हात छ ।


यसमा विभिन्न कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरूको विज्ञापन पनि गर्ने गरेका छन् । डिजिटल विज्ञापन महँगो पर्ने हुँदा यसमा निशुल्क विज्ञापन गर्न पाउँदा अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको व्यवसायीहरुले भनेका छन् । टिकटकको प्रयोगबाट साना व्यवसाय फस्टाएका थिए ।


टिकटकमा देखेर एक ठाउँबाट सामान किन्न अर्काेमा ठाउँमा जान्थे, यसको प्रतिबन्धपछि देशभरि नै सामान र सेवा बिक्रीवितरण गर्ने, उपभोक्ता सबैमा प्रत्यक्ष असर परेको छ । स–साना काम लागि पनि टिकटककै खोजी हुन थालेको थियो, घरजग्गा कारोबारदेखि कोठा खोज्ने कामसम्म टिकटकको प्रयोगले सजिलो भएको थियो ।


टिकटकको अर्काे सबैभन्दा धेरै फाइदा पर्यटन व्यवसायमा पनि परेको थियो । आफ्ना वरपर भएका पर्यटकीय ठाउँका बारेमा टिकटकमार्फत नै थाहा पाएर घुम्न जान्थे । नेपाली समाजमा विस्तारै घुम्नु पनि आधारभूत आवश्यकताको प्राथमिकतामा परेको छ । टिकटकले पर्यटकीय ठाउँलाई उजागर गरेको थियो । पर्यटन र अर्थतन्त्र एकआपसमा जोडिएकाले पर्यटनमा आएको विकासले स्वतः अर्थतन्त्रको विकास हुन्थ्यो ।


सामाजिक सञ्जालको प्रयोगबाट नकारात्मक परिणाम मात्रै आएका छैनन्, पहुँचविहीन समुदायको सशक्तीकरणदेखि धेरै क्षेत्रमा यसको राम्रो प्रभाव छ । समय व्यवस्थापनको हिसाबले भने यसले धेरैलाई हानि गरेको छ तर फजुल समय बिताउने राम्रो माध्यम पनि भएको छ । प्रयोगकर्तामा कस्ता विषय हेर्ने, कस्ता नहेर्ने भन्ने ज्ञान भएन । भाइरल हुने लोभमा आफ्नो सीमारेखा नबुझ्ने प्रवृत्ति भयो । टिकटकमा धेरै जानकारी पाउन सकिने भएता पनि, यो प्लेटफर्मले चुनौतीहरूको उचित हिस्सा पनि लिएर आउँछ ।


टिकटकमा भिडियो बनाउने क्रममा दुर्घटनामा परी धेरैले ज्यान गुमाएका समाचारहरु पनि आएका छन् । टिकटक बनाउने क्रममा लडेर, खसेर मृत्यु पनि भएको थियो । केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको, नेपालगञ्जमा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने सामग्रीसहितका भिडियो पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिन पुगेको थियो ।


भाइरल हुने नाममा एक परीक्षार्थीले परीक्षा हलमा आफैँले चिट चोरिरहेको भिडियो टिकटकबाट सार्वजनिक गरेका थिए । त्यसपछि उनको परीक्षा रद्दसमेत भएको थियो । नेपालमा सामाजिक सञ्जाल टिकटकको गलत प्रयोगका कारण भएका केही प्रतिनिधिमूलक घटना हुन् यी । यी घटनाबाट के बुझ्न सकिन्छ भने क्षणिक रमाइलोका नाममा टिकटकको प्रयोग यति विकृत बन्दै गइरहेको थियो कि हरेक घरपरिवार, समाज र देशकै लागि यो ठूलो चुनौतीका रुपमा सिर्जना भइरहेको थियो ।
सर्वसाधारणको भावनालाई ध्यान नदिई, मानव अधिकारमा असर गर्ने गरी र लोकतन्त्रका स्थापित उदाहरणलाई बेवास्ता गर्दै सरकारले गरेको एकपक्षीय र अपारदर्शी निर्णय मान्य हुँदैन ।


टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन, सामाजिक सञ्जाल प्लेटफर्महरूका लागि ल्याइएको निर्देशिका सार्वजनिक गर्न र प्लेटफर्महरूको जवाफदेहिताका लागि फ्रेमवर्क विकास गर्न सरोकारवालाहरूसँग परामर्श गर्न आवश्यक छ ।
कुनै पनि विषयमा समस्या देखा परेमा त्यो विषयलाई अन्त्य गरिनुभन्दा त्यसमा रहेका समस्याहरूको पहिचान गरी समाधानतर्फ जानु उत्तम उपाय हो । नेपालमा टिकटकले जन्माएको नकारात्मक असरलाई पहिचान गरी त्यसको विभिन्न विधि, पद्धतिबाट समाधान गरी त्यस्तो नकारात्मक पक्षलाई सकारात्मक पक्षमा रूपान्तरण गरी सूचना प्रविधियुक्त राष्ट्रको रूपमा विकास गर्नु आजको आवश्यकता हो ।

टिकटकका सकारात्मक प्रभाव र फाइदा
—व्यवसाय प्रवद्र्धन ।
—नयाँ अवसर र रोजगारीको सिर्जना ।
—वैदेशिक मुद्रा आर्जन ।
—पर्यटकीय स्थानको पहिचान प्रस्फुटन ।
—विश्वव्यापीकरण सहयोग ।
—सामाजिक अभियानहरू सञ्चालन ।


नकारात्मक प्रभावहरु
—सामाजिक सांस्कृतिक पक्षमा असर
—राष्ट्रिय शान्ति सुरक्षामा गम्भीर प्रश्न ।
—भाइरल हुने लोभमा अश्लील सामग्री प्रदर्शन ।
—साइबर अपराध र चरित्र हत्याका घटना वृद्धि ।
—गोपनीयता सार्वजनिक ।
—मानवीय स्वास्थ्य जोखिम ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया