वृद्धावस्थामा घिन्ताङ घिन्ताङ मादल

तारा पौडेल

समाधान संवाददाता २०८० फागुन २४ गते ११:२४

पोखरा ।
हेमजाकी ७० वर्षीय मुरली तिम्सिनाको दैनिकी हिजोआज मादलको घिन्ताङ घिन्ताङ तालसँगै बित्ने गरेको छ । कला र संस्कृतिको जर्गेना गर्न र महिलाहरुमा सीप विकास गर्ने उद्देश्यले पोखरा २५ हेमजामा सञ्चालित मादल बजाउने तालिममा सहभागी वृद्धा महिला हुन् उनी ।


चापाघाट आमा समूहको तर्फबाट सहभागी मुरली तिम्सिना दैनिकजसो मादल बजाउने तालिममा सहभागी हुन्छिन् । उनले सबैमा सीप सिक्ने जाँगर र उत्साह हुनुपर्ने बताउँछिन् । सीप सिकेर खेर नजाने भन्दै उनले पूजाआजा, गान भजन, विहे पर्दा अरु दाजुभाइलाई मादल बजाउन बोलाउँदा अप्ठेरो भएको बताउँदै अब मादल सिकेपछि परिआउँदा मादल बजाउन पछि नहट्ने विश्वास व्यक्त गरिन् ।


‘तन बुढो भए पनि रंग बुढो हुँदैन । मादल बजाउन रमाइलो लाग्छ । त्यसैले दिनदिनै नछुटाई सिक्न आएकी छु,’ उनी भन्छिन् ‘म ज्येष्ठ नागरिक समूहमा पनि आवद्ध छु । हामीहरु भ्रमण जादा रमाइलो गर्नुपर्छ, मादल बजाउन कसैले जानिएन भने त्यहाँ रंगै हुँदैन । मलाई बाँचुन्जेल रमाइलो गर्न मन छ । त्यसैले यो उमेरमा पनि मादल बजाउन सिक्न आएकी हुँ ।’

Advertisement


उनले म वृद्ध भए भनेर मन सानो नबनाउन आग्रह गरिन् । उमेरले हैन् मनले मान्छेलाई वृद्ध बनाउने भन्दै मादल जस्तो वाद्यवादनको महत्वपूर्ण साधन बजाउन सिप सिक्ने अवसर पाउँदा खुसी व्यक्त गरिन् । उनले सीप सिके आफैलाई फाईदा हुने बताउँदै पाएको अवसर कसैले पनि नगुमाउन आग्रह गरिन् ।

संगीत प्रशिक्षक सम्बरबहादुर गायकले फागुन १५ गतेदेखि स्थानीय वृद्धाहरुलाई मादल बजाउन सिकाइरहेका छन्

Advertisement


नहरचोक आमा समूहकी ६९ वर्षीय हरिमाया नेपालीले आएको मौका नगुमाउन भनेर सहभागीमात्र हुँ भनेर आएपनि तालिमले मादल बजाउन सक्ने बनाएकोमा खुसी छिन् । उनले अब परिआएमा मादल बजाउन सक्ने भएकोे बताउँछिन् ।


जनकल्याण आमा समूहकी ६५ वर्षीय केशवकुमारी बाँस्तोलालाई तालिम अगाडी मादल बजाउन कत्ति पनि आँउदैनथ्यो । जब उनी तालिममा सहभागी भइन्, उनले मादलको तालसँगै रमाउन सिकेकी छन् । उनी भन्छिन् ‘पहिला केही पनि जान्दिनथे सिक्न आएपछि बजाउन हात बसेको छ अब अरु ताल त विस्तारै म आफै पनि सिक्न सक्छु ।’ उनले मादल जस्तै कुनै पनि सिप सिक्ने अवसर आउदा मौका नगुमाउन सबै महिला दिदिबहिनीहरुलाई अनुरोध समेत गरिन् ।


मादल नै बजाउनै नजान्ने ६० वर्षीय मैयाँ खड्का पनि मादल बजाउने तालिममा सहभागी छन् । उनी खड्का आमा समूहकी प्रतिनिधि हुन् । उनले तालिमबाट मादल बजाउन जानेकोमा मख्ख छिन् ।


यसैगरी सिद्ध विनायक आमा समूहकी ६० वर्षीय ज्ञानु केसी आफूले मादल वजाउन जाने बढेसकालसम्म पनि काम लाग्ने र नयाँ पुस्तालाई पनि मादलको महत्व बुझाउन र सिकाउन सजिलो हुने हुदा आफू पनि मादल सिक्न आएको बताइन् । देवीस्थान आमा समूहकी पूर्वअध्यक्ष तथा समावसेवी बुद्धदेवी कुँवरले ‘सरकारको धन हाम्रो मन’को सदुपयोग गरी तालिम लिएको बताउँदै तालिमले आफूलाई मादल बजाउन पोख्त दख्खल बनाएकोमा खुसी व्यक्त गरिन् ।


भाइरल आमाको नामले समेत परिचित कुँवरले बाजागाजामध्ये शीर्ष बाजा मादल भएको बताउँदै कला र संस्कृतिको जर्गेना गर्न मादल बजाउने तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले यस सिकाइले भविष्यमा नयाँ पुस्तालाई समेत मादलको महत्वबारे बुझाउन सकिने बताइन् । यी केही प्रतिनिधि पात्र हुन् । तालिममा हेमजाका ४६ आमा समूहका ९२ जनाभन्दा बढी महिला सहभागी छन् ।


महिला सञ्जाल हेमजाको आयोजना र पोखरा २५ हेमजाको आर्थिक सहयोगमा सञ्चालित तालिममा तालिममा समाजसेवी तथा संगीत प्रशिक्षक सम्बरबहादुर गायकले फागुन १५ गतेदेखि दैनिक ३/४ घण्टा विष्णुपादुका माइस्थान मन्दिरको भवनमा मादल बजाउन सिकाइरहेका छन् । उनले तालिममा सहभागी महिला दिदीबहिनीहरु मादल बजाउन निकै नै उत्साही भएकाले सिकाउन सहज भएको बताए । ११ वर्षको उमेरदेखि मादल बजाउन थालेका प्रशिक्षक गायकसँग वाद्यवादनको साधनमा मादल र सारंगीको ४५ वर्षको अनुभव छ ।

तपाईको प्रतिक्रिया