बजेट अभावमा प्रदेश प्रहरी अस्पताल अलपत्र

राष्ट्रिय समाचार समिति (रासस) २०८० चैत १ गते १०:४३

लेखनाथ ।
पोखरा ७ मुस्ताङचोकमा ४ वर्षदेखि निर्माणाधीन गण्डकी प्रदेश प्रहरी अस्पताल बजेट अभावमा अलपत्र परेको छ । सेवारत एवं भूपू प्रहरी र उनीहरूका परिवारको औषधि उपचार गर्ने उद्देश्यले विस २०७७ मा निर्माण सुरु गरिएको अस्पतालको भवन निर्माण आवश्यक बजेट बिनियोजन नहुँदा पूरा हुन नसकेको हो ।

भवन निर्माणमा ६ करोड लागत अनुमान गरिए पनि पछिल्ला २ आर्थिक वर्षयता गण्डकी प्रदेश सरकारले बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको हो । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थ भट्टराईले भने क्रमागत रूपमा निर्माण सम्पन्न गर्ने भनिएको अस्पताल भवन निर्माणका लागि चालु आवमा १ करोड छुट्याइएको जानकारी दिए । ११ रोपनीमा फैलिएको उक्त अस्पतालले ४ वर्षदेखि टिनको टहराबाट सेवा प्रवाह गर्दै आएको छ ।


अस्पताल निर्माणका लागि २०७७/७८ मा प्रदेश सरकारले १ करोड २० लाख छुट्याएको भए पनि त्यसपछि गत आवसम्म बजेट बिनियोजन गरिएको थिएन । नेपाल प्रहरीको आफ्नै जग्गामा जस्ता पाताले निर्माण गरिएको भवनमा अहिले दैनिक ४०–५० जनाले सेवा लिँदै आएका छन् ।

Advertisement

अस्पतालका कार्यालय प्रमुख तथा प्राविधिक प्रहरी नायव उपरीक्षक डा रामप्रसाद शर्माका अनुसार अस्थायी रूपमा सञ्चालनमा ल्याइएको अस्पताल भवनबाट ओपिडी, फार्मेसी, ल्याव, आपतकालीन, थेरापी, भिडियो एक्सरे, एक्सरे र सामान्य शल्यक्रियालगायतका सेवा प्रवाह हुन्छ । निर्माणधीन अस्पताललाई क्रमागत भन्दा पनि बहुवर्षीय रूपमा निर्माण गर्ने गरी योजना बनाएको भए बजेट प्राप्त गर्न सजिलो हुने उनको भनाइ छ ।


१५ शड्ढयाको उक्त अस्पतालमा प्राविधिकसहित ३३ कर्मचारी कार्यरत छन् । अस्पताल भवनले पूर्णता पाएपछि यो ५० शड्ढयामा स्तरोन्नति हुनेछ । प्रहरी संगठन कास्कीका पूर्वसचिव सिद्धि रेग्मीले निर्माणाधीन अस्पताल जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न संगठनले पनि दबाब दिइरहेको बताउँछन् । अस्पताल निर्माणपछि प्रहरी र उनीहरूका परिवारसँगै सर्वसाधारणले पनि सेवा लिन सक्ने छन् ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया