खेल महोत्सव जारी

समाधान संवाददाता २०८० चैत ५ गते ११:३९

लेखनाथ ।
कास्कीको लेखनाथमा सूर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा शनिबारदेखि जारी खेल महोत्सवमा सोमबार फुटवल र टेक्वान्दोका खेल भएका छन् । चैत ११ गतेसम्म पोखरा २९ स्थित प्रस्तावित भण्डारढिक रंगशालामा हुने महोत्सवको दोस्रो दिन गण्डकी प्रदेश स्तरीय टेक्वान्दोका विभिन्न तौल समूहमा १४ इभेन्टका खेल भएका छन् ।


टेक्वान्दोका खेल संयोजक बोधराज गिरीले खेलका विजयीहरुलाई नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पशुराम बस्नेतले पुरस्कार प्रदान गरेको जनाए । सोमबार भएको फुटबल खेलमा साहारा क्लब र संगम क्लब विजयी भएका छन् । साहाराले सत्य युवा क्लब बाँझापाटनलाई ० का विरुद्ध १ ले हरायो । साहाराको तर्फबाट विपुल गौतमले गोल गरे ।


सोमबारको पहिलो खेलमा मुत्तिनाथ बाहिनी (एपिएफ) र संगम क्लबको खेल निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुट आउटमा संगम ४/३ ले विजयी बन्यो । मंगलबार पहिलो खेल आदर्श युवा क्लब र पुलचोक क्लब ललितपुरबिच हुनेछ भने दोस्रो क्वाटर फाइनलको खेलमा एलसी ब्रदर्स्र र आयोजक सूर्यतारा नेकोस खेल्ने महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए ।

Advertisement

फुटबल प्रतियोगितातर्फ विजेता टिमले नगद ३ लाख ३ हजार ३ सय ३३ र उपविजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया