पारा खेलकुद ७ र १० गते

समाधान संवाददाता २०८० चैत ६ गते ११:३६

पोखरा ।
पोखरामा पारा खेलकुद चैत ७ र १० गते हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सञ्चालन हुने पारा खेलकुद अन्तर्गत ९ खेल समावेश गरिएको प्रदेश खेलकुद परिषदका सदस्य एवं प्रतियोगिताका संयोजक अमृत बरालले जानकारी दिएका हुन् ।


प्रतियोगितामा बहुअपांगता बोसिया खेल, बौद्धिक अपांगता दौड, मनोसामाजिक दौड र म्युजिकल चियर, अटिजमका लागि सफ्टबल, बहिरा महिला ब्याडमिन्टन, बहिरा पुरुष भलिबल, शारीरिक अपांगता महिला टेनिस, शारीरिक अपांगता पुरुष ह्विल चियर बास्केटबल, दृष्टिविहीनतर्फ महिला र पुरुष क्रिकेट प्रतियोगिता हुने भएका छन् ।


पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जनाउँदै संयोजक बरालले सबै खेलमा महिला र पुरुष गरी २ सय १७ जना खेलाडीको सहभागिता हुने जानकारी दिए । प्रदेश खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने प्रतियोगितामा पुरस्कार राशिमा ३ लाख नगद खर्च हुने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया