‘राजधानी’ले नगिज्याओस्

समाधान संवाददाता २०८० चैत ६ गते ११:५३

आइतबार पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिएको गरियो । प्रदेश, महानगर, छिमेकी स्थानीय तह, स्थानीयवासी र संघ, संस्थाको सहभागितामा आइतबार आयोजित भव्य समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटनको राजधानी घोषणा गरे । पर्यटनको राजधानी घोषणासँगै लेकसाइडसहित सहरका मुख्य क्षेत्र चौबिसै घण्टा खोल्न पाइने भएको छ । पर्यटनको राजधानी घोषित पोखराका सबै जसो ताल मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा छन् । यहाँका धेरै जसो पर्यटकीय सम्पदाबाट सरकारले आम्दानी गर्न सकेको छैन ।

पाताले छागो, चमेरे गुफा र महेन्द्र गुफाको आम्दानी स्कुलले लिने गरेका छन् भने तालमा चल्ने डुंगा व्यवसाय पनि करको दायरामा छैन । पछिल्लो क्रममा चर्चामा आएको पुम्दीकोट स्थानीय संस्थाले चलाएको छ भने गुप्तेश्वर गुफाको स्वामित्व पनि स्थानीय सरकारसँग छैन । पोखरा आउने पर्यटकको यकीन तथ्यांकसमेत नभएको अवस्थामा पर्यटनको राजधानी बनाउने योजना निर्माण र कार्यान्वयनमा विश्वस्त भइहाल्ने अवस्था छैन । पर्यटन क्षेत्रबाट सरकारले आम्दानी गर्न नसक्ने र स्थानीयको जीवनमा पनि परिवर्तन नहुने हो भने यो घोषणाले तात्विक अर्थ राख्ने छैन ।


अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारले चौबिसै घण्टा खोल्ने अनुमति पाए पनि अरू बजार राति १० बजेपछि बन्द हुने गरेका थिए । पहिलो चरणमा महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्वी चोक, नागढुङ्गा, मुस्ताङ चोक, राष्ट्र बैङ्क चोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लन चोकसम्म चौबिसै घन्टा खुला गर्न दिने तयारी छ । व्यापार, व्यवसाय खुला राख्न मिल्ने क्षेत्रका व्यवसायी र व्यावसायिक फर्मले ४३ मापदण्ड पूरा गरी रातभर व्यवसाय खोल्न पाउने छन् । अर्कातिर पोखरालाई पर्यटनको राजधानी भनिए पनि लेकसाइडबाहेक अन्यत्रलाई हेँला भावले हेर्ने गरिएको व्यवसायीकै गुनासो छ । ग्रेटर पोखराको अवधारणाअघि सारी यस्तो घोषणा भएका बेला पहिलो चुनौती यही मनिस्थितिलाई चिर्नु हुनेछ ।

Advertisement


अहिले घोषणा गरिएको राजधानीको सांकेतिक अर्थ पर्यटनका लागि आवश्यक पूर्वाधारसहितको पर्यटनमैत्री सहर भन्ने हो । त्यसका लागि धेरै पक्ष सुधार्न जरुरी छ पोखरालाई काठमाडौंसहित नेपालका विभिन्न भूभागसँग जोड्ने तीन राजमार्गमध्ये दुईको स्तरोन्नति हुँदै छ । कछुवा गतिको सडकको कामले धेरै यात्रुलाई सास्ती दिएको छ । पर्यटकमा विकर्षण पैदा गरेको छ । स्याङ्जा हुँदै पोखरा आउने बाटोका घुम्तीहरुले धेरै यात्रुलाई हैरान पार्छ ।

हवाई यातायातको सहज पहुँच पनि पोखराको काठमाडौंसँग मात्र छ । देशकै अरु मुख्य सहर र प्रदेश राजधानीहरुसँग समेत यहाँबाट नियमित उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बने पनि उडान आन्तरिकमात्रै छ । यहाँका सुन्दर सम्पदाहरु मानवीय र प्राकृतिक अतिक्रमणले ग्रस्त छन्, मुख्य बजारकै सडकको अवस्था राम्रो छैन । पोखरा आएर फर्किने पाहुनाले लैजाने गतिलो कोसेलीसमेत पोखरेली तयार गर्न सकेका छैनन् । यी चुनौती सामना गर्न योजनावद्ध रुपमा काम नभए राजधानी शब्दले पोखरेलीलाई गिज्याइरहनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया