बेगनासतालमा ड्रागन बोट रेस हुने

समाधान संवाददाता २०८० चैत ७ गते ११:४४

लेखनाथ ।
विश्वका ७५ भन्दा बढी देशमा सञ्चालन हुदै आएको ड्रागन बोट रेस कास्कीको लेखनाथ स्थित बेगनास ताल किनारामा हुने भएको छ । पानीमा खेलिने विभिन्न प्रकारका खेलमध्ये ड्रागन बोट रेस पहिलो पटक कास्कीको बेगनासमा हुन लागेको हो ।


गत वर्ष पोखराको फेवातालमा भएको नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ड्रागन वोट रेस भएको थियो । यस वर्ष राष्ट्रिय स्तरको रुपमा कास्कीको दोस्रो ठूलो ताल वेगनासमा चैत ११ र १२ गते हुने भएको छ ।


आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त आयोजना र पर्यटन बोडको प्रवद्र्धनमा ड्रागन बोट प्रतियोगिता हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Advertisement


बेगनासतालको पिप्ले टुँडादेखि मन्दरे पार्क सम्मको दूरीमा हुने प्रतियोगितामा १६ समूहको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा ५ सय र २ सय मिटर गरी २ समूहका खेल हुनेछन् ।


दुई सय मिटरमा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक होटल तथा रेन्टुरेन्ट एसोसियसन लेखनाथ अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए । प्रतियोगिताको पाँच सय मिटरतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो बन्नेले ७५ हजार नगद पाउने छन् ।

Advertisement


फागूपूर्णिमाको अवसर पारी वेगनासतालमा प्रतियोगितामा प्रदेश स्तरका टिमहरुको सहभागिता रहनेछ । ड्रागन आकारको डुंगामा १२ जनाको समूहले एकै साथ चलाउने र जुन समूहले निर्धारीत दूरी छोटो समयमा पार गर्छ, उही समूह विजयी हुनेछ ।


कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख नवीन पोखरेलले पानीमा पनि खेलका कार्यक्रम गरे यस क्षेत्रको पर्यटन विकासमा जोड पुग्ने जनाए । कार्यक्रममा ड्रागन बोट एसोसियसनका अध्यक्ष दीपक सुवेदी र पोखरा महानगरपालिका पर्यटन प्रवद्धन समितिका संयोजक रवीन्द्रराज पौडेल, पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेल, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका महासचिव सुरेश लामिछाने लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया