कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल सुरु

समाधान संवाददाता २०८० चैत ८ गते ११:५७

पोखरा ।
पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशील बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा बुधबारदेखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।


पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगितामा मालेपाटन एफसीले विजयी सुरुआत गरेको छ । मालेपाटन एफसीले लेकसाइड सेतोलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो । मालेपाटनको जीतमा राजकुमार भुजेलले निर्णायक गोल गरे । सो खेलबाट अमृत गुरुङ म्यान अफ द म्याच बने ।


दोस्रो खेलमा एनए भेट्रान्स लेकसाइडले टेन इलभेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्‍यो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

Advertisement


ट्राइबेकरमा एनए भेट्रानका गोलरक्षक विकास गुरुङले टेन इलभेन एफसीको प्रहारलाई रोक्दै जीत सुनिश्चित गर्दै म्यान अफ द म्याच बने । तेस्रो खेलमा सविन मेमोरियलले बागलुङ सुधार केन्द्रलाई २–१ गोल अन्तरले पराजित गर्याे । सविनको जीतमा सुवास केसी र विशाल गुरुङले समान १ गोल गरे भने बागलुङका लागि कुशल खड्काले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट अनुप राना म्यान अफ द म्याच बने ।


चौथो खेलमा एट टु नाइन एफसीले गार्डेन एफसीलाई २–१ गोल अन्तरले हरायो । एट टु नाइनको जीतमा दुवै गोल नरेश केसीले गरे भने गार्डेनका सन्तोष केसीले सान्त्वना १ गोल फर्काए । सो खेलबाट एट टु नाइनका नरेश केसी म्यान अफ द म्याच घोषित भए ।

Advertisement


यसैगरी आज भएको अन्तिम खेलमा लेकसाइड पहेंलोले न्यू एयरपोर्टलाई २–० गोल अन्तरले हरायो । लेकसाइडको जीतमा सुमन पुन र इश्वर गुरुङले समान १ गोलको योगदान दिए । सो खेलबाट सुमन पुन म्यान अफ द म्याचबाट पुरस्कृत भए । खेल संयोजक विषम पहारीका अनुसार बिहीबार क्वाटरफाइनका ४ खेल सञ्चालन हुनेछन् ।


‘ट्रस्टको खेल मैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल’
बाराहीघाटमा बुधबार सुरु पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले नेपाल ट्रस्टको मैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल भइरहेको बताए ।


विभिन्न खेलकुद प्रतियोगिताका लागि उपयुक्त मैदान भएकाले महानगरको स्वामित्वमा ल्याउने र वडाले निगरानी राख्ने गरी पहलकदमी भइरहेको दोहोर्‍याए । ‘बाराहीघाट अहिले नेपाल ट्रष्टको स्वामित्व रहेको छ । यस क्षेत्रमा कुनै कार्यक्रम गर्दा ट्रस्टको स्वीकृति र शुल्क तिनुपर्ने झन्झट रहेको छ,’ वडाध्यक्ष भट्टराईले भने, ‘बाराहीघाटलाई खेलकुद क्षेत्रको रुपमा विकास गर्न यस ठाउँलाई महानगरको स्वामित्वमा ल्याउन हामीले पहल गरिराखेका छौं ।’


उनले पोखरा पर्यटकीय राजधानी घोषणा भएको उल्लेख गर्दै खेल क्षेत्रको प्रर्वद्धन र विकासतर्फ लाग्नुपर्नेमा जोड दिए । ‘महानगर र गण्डकी प्रदेश सरकारसँगै सबैको समन्वयमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छौं,’ वडाध्यक्ष भट्टराईले भने, ‘बाराहीघाटमा साफ च्याम्पियनसिप प्रतियोगिताको केही खेल सम्पन्न पनि गर्याै । त्यसैले यस ठाउँलाई खेलकुद क्षेत्रको रुपमासमेत अगाडि लैजानुपर्छ भन्ने हाम्रो धारणा छ ।’


जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुच्छेले स्वर्गीय कृष्ण गिरीको खेलकुद क्षेत्रमा योगदान गरेको स्मरण गरे । ‘स्वर्गीय कृष्ण गिरी सानैदेखि खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो,’ बिजुच्छेले भने, ‘४० वर्ष अगाडि लेकसाइडको विकासमात्रै नभएर खेलकुदको विकासका निम्ति पनि उहाँको भूमिका महत्वपूर्ण छ ।’


आगामी ९ गते सम्पन्न हुने सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।


विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५/५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया