एलसी ब्रदर्स सूर्यतारा (नेकोस) खेल महोत्सवको फाइनलमा

समाधान संवाददाता २०८० चैत ८ गते १२:४८

लेखनाथ ।
सूर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा कास्कीको लेखनाथमा जारी सूर्यतारा (नेकोस) खेल महोत्सव अन्तर्गत फुटबलतर्फ एलसी ब्रदर्स लामाचौर फाइनलमा प्रवेश गरेको छ ।


एलसी ब्रदर्स लामाचौर र आरएस फुटबल क्लबका बिच बुधबार भएको सेमीफाइनल चरणको खेल निर्धारित समयमा पनि दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ३–३ को बराबरी भएपछि सडन डेथमा ४–३ को गोल अन्तरले आरएस फुटबल क्लबलाई हराउँदै एलसी ब्रदर्सले फाइनलमा स्थान पक्का गरेको हो ।


यसअघि बुधबार नै सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा सहारा क्लबले विष्णुपादुका क्लबलाई २–० गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको छ । बिहीबार हुने दोस्रो सेमीफाइनल चरणको खेल आदर्श युवा क्लब र सहारा युवा क्लबबिच हुनेछ । आदर्श युवा क्लबले क्वाटरफाइनलमा अन्नपूर्ण गाउँपालिकालाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो ।

Advertisement


प्रतियोगितामा विजेता टिमले नगद ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।


चैत ३ गतेदेखि सुरु भएको महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समावेश गरिएका छन् ।

Advertisement


खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुद क्षेत्रको समग्र संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै पर्यटनको प्रवद्र्धनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको सूर्यतारा युवा क्लबका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनले बताए ।

तपाईको प्रतिक्रिया