हिमालमा जोगिने कसरी ?

सुन्दरकुमार थकाली २०८० चैत ११ गते १०:४६

जोमसोम ।
मुस्ताङ भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लेक लाग्नु (हाइ अल्टिच्युड) सचेतना दिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले चैत ५ गतेदेखि म्याग्दी र मुस्ताङको सीमाना घाँसा र पोखराबाट हवाई मार्ग हुँदै मुस्ताङ आउने पर्यटक तथा तीर्थालुलाई जोमसोम विमानस्थलमा हाइ अल्टिच्युड सचेतना दिन थालेको हो ।


धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ आउने पर्यटक तथा तीर्थालुले आवश्यक स्वास्थ्य सावधानी अपनाउन नसक्दा यहाँ आउने कतिपयलाई हाइ अल्टिच्युडको समस्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले पछिल्ला ३ आर्थिक वर्षमा २५ जनाले हाइ अल्टिच्युडका कारण ज्यान गएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मिलनबहादुर विकले चालु आर्थिक वर्ष २०८०/०८१ मा २ नेपालीसहित ५ पर्यटकको हाइ अल्टिच्युड समस्याले मृत्यु भएको बताए । त्यसअघिका २ आर्थिक वर्षमा ४ नेपालीसहित १४ विदेशीको मुस्ताङमा हाइ अल्टिच्युड थेग्न नसकी मृत्यु भएको थियो ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङले शारीरिक रुपमा अशक्त, ६० वर्ष उमेर कटेका ज्येष्ठ नागरिक तथा दम, प्रेसर,सुगर र मुटु रोगको समस्या भएका पर्यटकलाई मुस्ताङ आउँदा हाइ अल्टिच्युडको समस्या देखिने गरेको उल्लेख गरेको छ । प्रहरी निरीक्षक विकले बेंसीको कम उचाइबाट उच्च उचाईमा आउँदा अल्टिच्युड मेन्टन गर्न आवश्यक स्थानमा होल्डिङ गर्नुपर्ने बताए ।

Advertisement


‘कम उचाईबाट यहाँ आउँदा सुरक्षा संवेदनशीलताप्रति ख्याल गर्नुपर्ने हुन्छ,’ प्रहरी निरीक्षक विकले भने, ‘दीर्घ रोगी र उमेर कटेकालाई यहाँ ल्याउँदा चिकित्सकबाट स्वास्थ्य परामर्श लिनुपर्ने हुन्छ ।’ मुस्ताङको धार्मिक स्थल मुक्तिनाथ, कागबेनी र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको हेलचक्राईले पनि हाइ अल्टिच्युड लागेर मृत्यु हुने क्रम बढेको हो ।

पछिल्ला ३ वर्षमा २५ जनाले हाइ अल्टिच्युडका कारण ज्यान गुमाएपछि सतर्कता अपनाइँदै

Advertisement


उच्च भूगोलमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकले यहाँको तापक्रम र हावापानी ख्याल नगरी अल्टिच्युड थेग्न न्यानो कपडा नलगाउने र खानपानमा समेत ध्यान नपुर्‍याउँदा हाइ अल्टिच्युडको जोखिम बढेको हो । प्रहरी निरीक्षक विकले मुस्ताङमा पर्यटक लक्षित दक्ष स्वास्थ्य जनशक्ति र अक्सिजनसहितको हाइ अल्टिच्युड ट्रिट मेन सेन्टर स्थापना गर्नुपर्ने सुझाए ।


मुस्ताङ भ्रमण गराउने सम्बन्धित ट्राभल एजेन्सी र पर्यटक गाईडहरुले पनि पर्यटकलाई हाइ अल्टिच्युडबारे जानकारी गराउनु आवश्यक रहेको प्रहरी निरीक्षक विकको भनाइ छ । उनले पर्यटकलाई हाइ अल्टिच्युडबाट जोगाउन प्रहरीले निरन्तर सचेतना अभिवृद्धि गर्ने कार्य भइरहेको सुनाए ।


समुद्री सतहको २ हजार ५ सयदेखि माथिको उचाईमा हावामा अक्सिजनको मात्रा कम हुन्छ । उच्च उचाईमा जाने पर्यटक तथा तीर्थालुलाई अक्सिजन मात्रा कम हुँदा शरीरको रगतले आवश्यक मात्रामा अक्सिजन प्राप्त गर्न सक्तैन । उच्च उचाइमा अल्टिच्युड थेग्न नसक्ने पर्यटकलाई यस प्रकारको समस्या देखिँदा मस्तिष्कमा अक्सिजनको मात्रा नपुग्ने र यसले मस्तिष्कमा पानी जम्ने सम्भावना हुने मुस्ताङ अस्पतालका मेडिकल अधिकृत डा. बिर्सजन नेपाली बताउँछन् ।


उच्च उचाइमा पुग्दा अल्टिच्युड सामना गर्न नसक्ने पर्यटक तथा तीर्थालुलाई छातीमा समेत पानी जम्ने सम्भावना हुने नेपालीले उल्लेख गरे । मेडिकल अधिकृत नेपालीका अनुसार एक्युड माउन्टेन सिक्नेस, सेरिब्रेल एडिमा र पल्मोनरी एडिमा जस्ता अल्डिच्युड हुने गर्छ । एक्युड माउन्टेन सिग्नेस हाइ अल्टिच्युडले खासै धेरै असर नपुर्‍याए पनि सेरिब्रेल एडिमा र पल्मोनरी एडिमा अल्टिच्युडले जोखिम निम्त्याउने उनको भनाइ छ ।


मुस्ताङ आउने पर्यटक तथा तीर्थालुलाई ३ समस्यामध्ये सेरिब्रेन एडिमा र पल्मोनरी एडिमा अल्टिच्युडको समस्या देखिने गरेको मेडिकल अधिकृत नेपालीले सुनाए । यस प्रकारको स्वास्थ्य समस्या आउँदा बिरामीको मस्तिष्क र फोक्सोमा पानी जम्ने गर्छ । मुस्ताङमा हाइ अल्टिच्युड लाग्दा यहाँको अस्पतालले अक्सिजन निफिडिफिन औषधिमात्रै उपलब्ध गराउन सक्ने मेडिकल अधिकृत नेपालीले स्पष्ट पारे ।


दीर्घ रोगको औषधि सेवन गरेका तथा ज्येष्ठ नागरिकलाई बेसीबाट मुस्ताङ आउँदा अल्टिच्युड मेन्टन गर्दै ल्याउनुपर्ने हुन्छ । यस प्रकारको स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य परामर्श लिएर मुस्ताङ ल्याउन मेडिकल अधिकृत नेपालीले सुझाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया