गण्डकी पारा खेलकुद सकियो

समाधान संवाददाता २०८० चैत ११ गते ११:०९

पोखरा ।
गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पूर्ण इभेन्ट शनिबार पोखरा रंगशालमा भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा महिला पुरुष दृष्टिविहीन क्रिकेट, बहिरा पुरुष भलिबल, ह्विलचयर पुरुष बास्केटबल, ह्विल चियर टेबुल टेनिस, बहिरा महिला ब्याडमिन्टन र बहुअपांगता बोसियाका खेल सकिएका हुन् ।


प्रतियोगिता अन्तर्गत ह्विलचियर बास्केटबल पुरुषतर्फ हरियो खर्क अस्पताल विजेता बनेको छ भने उपविजेता नवलपुर ह्विलचियर टिम र तेस्रो स्थान पोखरा महानगर पालिका ह्विलचियर टिम बनेको छ । विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टिमले क्रमश नगद २५ हजार १५ र १० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।


प्रतियोगितामा सुरेश गौली उत्कृष्ट र हाइस्कोरर भरत बानियाँ भएका छन् । उनीहरुले जनही नगद १ हजारका साथमा ट्रफी प्राप्त गरे । दृष्टिविहीन पुरुष क्रिकेटतर्फ दुई टिम सहभागीमध्ये गण्डकी ‘ए’ सम्मिलित टिम विजयी भएको छ । उसले नगद २८ हजार प्राप्त गर्दा गण्डकी ‘बी’ टिम दोस्रो हुँदै नगद १४ हजारका साथ ट्रफी हात पारेको छ ।

Advertisement


खेलमा टिम ए का सुनील राना म्यान अफ दि म्याच भए । उनले नगद १ हजार ५ सयका साथमा ट्रफी हात पारे । त्यस्तै बी–३ तर्फ लोकबहादुर थापा, बी–२ तर्फ सुनील राना र बी–१ तर्फ शेरजन गुरुङ उत्कृष्ट हुँदै जनही नगद १ हजारका साथमा ट्रफी प्राप्त गरे ।


दृष्टिविहीन महिला क्रिकेटतर्फ २ टिम सहभागीमध्ये गण्डकी ‘ए’ सम्मिलित टिम विजयी भएको छ । उसले नगद २८ हजार प्राप्त गर्दा गण्डकी ‘बी’ टिम दोस्रो हुँदै नगद १४ हजारका साथ ट्रफी हात पारेको छ । खेलमा टिम एकी विनिता पुन म्यान अफ दि म्याच भइन् । उनले नगद १ हजार ५ सयका साथमा ट्रफी हात पारिन् ।

Advertisement


बी–३ तर्फ विनिता पुन, बी–२ तर्फ भगवती भट्टराई र बी–१ तर्फ सुष्मा तामाङ उत्कृष्ट हुँदै जनही नगद १ हजारका साथमा ट्रफी प्राप्त गरे । बहिरा पुरुष भलिबलतर्फ बागलुङ सम्मिलित टिम विजयी भएको छ भने पोखराले उपविजेतामा चित्त बुझाएको छ । बागलुङले नगद २० हजार र पोखराले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


ह्विलचियर टेबुलटेनिसमा क्रमश धना मगर, लक्ष्मी सुनार, अन्जु बराल र अञ्जना केसी क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो बने । उनीहरुले क्रमश जनही नगद ५ हजार, ३ हजार २ हजार र १ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


बहिरा महिला ब्याडमिन्टन प्रतियोगितामा शारदा थापा, सरिता उपाध्याय, कमला मगर र मलिना श्रेष्ठ क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो बने । उनीहरुले क्रमशः जनही नगद ५ हजार, ३ हजार २ हजार र १ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पन्न बहुअपांगगता बोसिया प्रतियोगितामा ६ टिमको सहभागिता थियो ।


प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङले गरेका थिए । प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, प्रदेश खेलकुदका सदस्य विष्णुमाया गुरुङ र कार्यालय प्रमुख तोपलाल भुसालले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।


चैत ७ गते र १० गते गरी २ चरणमा भएको पारा खेलकुद प्रतियोगितामा ३ सयभन्दा बढी खेलाडीले ८ इभेन्टमा सहभागिता जनाएको प्रदेश खेलकुदका सदस्य एवं प्रतियोगिताका संयोजक अमृत बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया