बेगनासतालमा ड्रागन बोट रेस

समाधान संवाददाता २०८० चैत १२ गते १०:४१

पोखरा ।
तालचोक वेगनासको धूले सडक छिचोल्दै आइतबार उल्लेख्य मानिस वेगनासताल किनार पुगे । सदैव काठमा डुंगा चल्ने तालमा आइतबार अनौठा मान्छेसँगै नयाँ खालका डुंगा पनि देखिए । प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेसका लागि नयाँ खालका डुंगासँगै उल्लेख्य दर्शक पुगेका हुन् ।


प्रतियोगता उद्घाटन गर्न नयाँ मन्त्री नै आइपुगेः युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ । पोखरा महानगरपालिकाको दोस्रो ठूलो ताल वेगनासमा आइतबारबाट सुरु भएको ड्रागन बोट रेसमा २ सय मिटरको इभेन्ट सकिएको छ । यो प्रतिस्पर्धामा प्रथम हुँदै नारा पोखराले १ लाख, दोस्रो बन्दै वाटर स्पोटर्स एसोसियसनले ५० हजार र तेस्रो बन्दै हर्पन मत्स्य समूहले २५ हजार जितेका छन् ।


५ सय मिटरतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो बन्नेले ७५ हजार नगद पाउने छन् । यो खेल सोमबार हुनेछ । पोखरा वडा नम्बर ३१ को तालमा नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस सुरु भएको हो ।

Advertisement


नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ताल किनारमा भएको समारोह भुरा तालमा छाडी उद्घाटन गरे । १४ टिमको सहभागिता रहेको प्रतियोगिता सोमबारसम्म चल्नेछ । कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद पछिल्लो समय कूटनीतिक सम्बन्ध विस्तारको माध्यमसमेत बनेको जनाए ।

पोखरामा दोस्रो पटक र बेगनासतालमा पहिलो पटक भएको ड्रागन बोट रेसको ५ सय मिटरको प्रतिस्पर्धा आज

Advertisement


उनले खेलमार्फत् समृद्धिको खोजी गर्नुपर्ने जनाउँदै खेलमा राजनीति गर्न नहुनेमा जोड दिए । खेलको माध्यमबाट छिमेकी देशसँगको समन्ध पनि प्रगाढ बन्न सक्ने मन्त्री श्रेष्ठले औँल्याए । भने, ‘खेलकुद पछिल्लो समय सफ्ट कूटनीतिको माध्यम पनि बनेको छ, खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै अघि बढ्नुपर्छ ।’


कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लेखनाथ पोखरा महानगरमा गाभिएपछि पनि लेखनाथबासीले महानगरको आभास गर्न नपाएको गुनासो गरे । यस्तै व्यवहार रहे लेखनाथबासीले पनि फरक तवरले सोच्नुपर्ने दिन आउने जनाए । अधिकारीले भने, ‘पोखराले कि हामीलाई पनि सँगसँगै लानुपर्‍यो कि हामीले पुरानै ठाउँमा फर्केर छुट्टै पालिका खोज्नुप¥यो ।’
सकारात्मक र सिर्जनात्मक सोचका साथ सबै पक्षअघि बढेमात्र समृद्धि सम्भव हुने उनले औंल्याए । लेखनाथमा रहेका तालहरुको योजनावद्ध विकासका लागि ३ तहकै सरकारबिच सहकार्य हुनुपर्नेमा उनको जोड छ ।


कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख नवीन पोखरेलले पर्यटनको सम्भावना खोज्न यस्ता महोत्सव, उत्सवसँगै पूर्वाधार र प्रचारप्रसार ध्यान दिनुपर्ने औंल्याए । पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले ड्रागन बोट रेस अब बर्सेनी आयोजना गर्ने वातावरण बनाइने जनाए । उनले पछि थपिएका र ग्रामीण भेग रहेका वडाहरुलाई विशेष ध्यान दिई महानगरको आभास दिलाउन प्रयत्न भइरहेको सुनाए ।


पोखरा महानगरपलिका तथा गण्डकी प्रदेशमा पर्यटक प्रवद्र्धन गर्न रेस सञ्चालन गर्न लागिएको होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले बताए । कार्यक्रममा पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले यस्ता उत्सवले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने सुनाए ।


चीनबाट सुरु भएको ड्रागन बोट रेस ड्रागनको आकृति भएको ढुंगा दौड हो । यसमा १२ जना सवार जुन डुंगाले निर्धारित दूरी कम समयमा पार गर्छ, त्यही समूह विजयी हुन्छ । पोखराको फेवातालमा गएको असार दोस्रो साता ड्रागन बोट रेस भएको थियो । रेसमा सहभागी हुन विमान चार्टड गरी एक सय २० सदस्यीय टोली चीनबाट पोखरा आएको थियो । त्यस बेला प्रतियोगिताका लागि ८ डुंगा चीनबाट ल्याइएका थिए ।


कार्यक्रममा लेखनाथबासीले झाँकी, र्‍यालीसमेत निकालेका थिए । रेसका लागि दुई जना प्राविधिक चीनबाट आएका छन् ।

तपाईको प्रतिक्रिया