गण्डकीको मुख्यमन्त्री एमालेलाई

समाधान संवाददाता २०८० चैत १३ गते ११:०९

पोखरा ।
प्रदेश सरकारको नेृतत्व भागबन्डामा सत्तारुढ दलहरु सहमति नजिक पुगेका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा यसबारे कुराकानी भएको छ ।


अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबन्डा टुंगो लगाउने तयारी छ । एमालेले कोशी, गण्डकी र कर्णालीको नेतृत्व लिने करिब सहमति भएको छ । माओवादीको भागमा बागमती र लुम्बिनीको नेतृत्व र मधेसमा जसपालाई नै मुख्यमन्त्री दिने करिब सहमति बनेको छ ।


गण्डकीमा पनि एमाले–माओवादी गठबन्धनलाई सरकार बनाउन सहज देखिएको छैन । कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बहुमत जुटाउने प्रयासमा छन् । उनले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलाई भौतिक पूर्वाधारमन्त्री बनाएका छन् भने दुई प्रदेश सांसद भएको राप्रपाको समर्थन लिने प्रयास गरेका छन् ।

Advertisement


आफू स्वतन्त्र सांसद भएको मनाङेको दाबी सदर भएमा एमाले–माओवादी संकटमा पर्ने छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । एमालेसँग २२ र माओवादी केन्द्रसँग (सभामुखसहित) ८ प्रदेश सांसद छन् । सबभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ प्रदेश सांसद छन् भने राप्रपाका २ र दीपक मनाङे छन् ।


नेताहरुका अनुसार बागमती र लुम्बिनीको मुख्यमन्त्री माओवादी केन्द्रले लिने सम्भावना छ । बागमतीमा माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् । एमालेको समर्थनका बाबजुद उनलाई बहुमत जुटाउन भने सहज छैन । १ सय १० सदस्यीय प्रदेशसभामा बुहमतका लागि ५६ मत चाहिन्छ । एमालेका २७, माओवादीका २१ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।

Advertisement


नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री दिएर भए पनि लुम्बिनीमा समर्थन जुटाउने दलहरुको तयारी छ । तर नाउपा आफैंमा विभाजित छ । संरक्षक रेशम चौधरीको जोडबलमा नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको छ । तर केन्द्रमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जोडबलमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको छ ।

तपाईको प्रतिक्रिया