एमाले कास्कीकाे अध्यक्षमा तीन जनाकाे उम्मेदवारी

समाधान संवाददाता २०८० चैत १३ गते १३:४५

पोखरा ।

नेकपा एमाले कास्की जिल्ला नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । दुई प्यानल विभाजित भएर गरिएको निर्वाचनमा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । माधव बास्तोला र बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दिएका हुन् । त्रिपाठीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएपनि अन्य दुईले प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।
२०७४ को निर्वाचनबाट जिल्ला समन्वय समिति कास्कीका सभापति समेत बनेका क्षेत्री एमाले कास्कीका सचिव हुन् । युवा संघको केन्द्रीय उपाध्यक्षसमेत बनेका अध्यक्षका उम्मेदवार बास्तोला मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष समेत हुन् ।

माधव समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिएका छन् । क्षेत्री समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।

Advertisement

अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचन गर्ने कार्यतालिका छ । उक्त अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधिले भाग लिइरहेका छन् । जिल्ला अधिवेशन चैत १० गते सुरु भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया