एमाले कास्की अधिवेशनमा रातभर मतदान, अझै जारी

समाधान संवाददाता २०८० चैत १४ गते १०:२५

पाेखरा ।

नयाँ जिल्ला नेतृत्व चुन्न भइरहेको नेकपा एमाले कास्कीको अधिवेशनमा बुधबार बिहानसम्म पनि मतदान जारी छ । मतदान मंगलबार साँझ साढे ७ बजे सुरु भएको थियो । बुधबार बिहान साढे १० बजेसम्म ७५ प्रतिशत मतदान भएको छ । मतदान बुधबार दिउँसो १२ बजेसम्म चल्नेछ ।


मतदान गर्न एकजनालाई १३ मिनेटदेखि ४४ मिनेटसम्म लाग्ने भएकाले मंगलबार रातभर मतदान हुँदा साढे ७ सय मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार ३ सय मतदान हुन बाँकी छ ।

Advertisement

एमाले कास्कीको अध्यक्ष बन्न बैनबहादुर अधिकारी र माधव बास्तोला प्यानललै बनाएर प्रतिस्पर्धामा छन् । विवेक त्रिपाठी पनि अध्यक्षका अर्का उम्मेदवार हुन् ।

एमाले कास्की अधिवेशनका क्रममा मंगलबार उम्मेदवारी दर्तापछि मतदान पनि भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका बैनबहादुर यसअघिका जिल्ला सचिव हुन् । बास्तोलासँग युवा संघको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेश कार्यालयका कार्यालय सचिव भई काम गरेको अनुभव छ ।

Advertisement


माधब बास्तोला समूहबाट उपाध्यक्षमा शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ र उपसचिवमा राधिका शाही योगी र सीता विकले उम्मेदवारी दिएका छन् । बैनबहादुर प्यानलबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा सन्तु सुवेदी र लालबहादुर परियार छन् । उपसचिवमै प्यानलबाहेकबाट संगीता सुवेदीले पनि उम्मेदवारी दर्ता गराएकी छन् । एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशन २ दिन लम्बिएको थियो । चैत १० र ११ गतेका लागि भनिएको अधिवेशन लम्बिएको हो ।


बुधबार नतिजा आउने निर्वाचन मण्डलले जनाएको छ । अधिवेशनमा सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएको थियो । अध्यक्षका उम्मेदवार दुवैले आफूहरु कुनै गुटको नभई समग्र एमालेको भवनालाई समेटेर काम गर्ने उम्मेदवार भएको बताएका छन् ।


एमाले जिल्ला अधिवेशनमा कास्कीका ५ पालिकाबाट ९२५ जना प्रतिनिधि छनोट भई आएका छन् । मंगलबार सुरु भएको अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको हो । मतदानका लागि १६ वटा मेसिन प्रयोग भएको छ ।
मतदान सकिएपछि विद्युतीय माध्यबाट नै मतगणना हुने छ ।

सदस्यमा ७ जना सर्वसम्मत निर्वाचित


नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट ७ जना सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको समयमा अन्यको उम्मेदवारी दर्ता नपरेपछि ७ जना जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।
सर्वसम्मत सदस्यमा निर्वाचित हुनेमा अपांगतातर्फ गंगाबहादुर खड्का हुन् । यो क्लस्टरमा अन्यको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत सदस्य निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको हो ।


बुद्धिजीवी क्लस्टमा दुर्गा भण्डारी र विजय शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । मादी गाउँपालिकाबाट महिलातर्फ दुईजना सर्वसम्मत भएका छन् । मादी गाउँपालिकाकी उपाध्यक्ष (जनप्रतिनिधि) कल्पना गुरुङ सर्वसम्मत निर्वाचित भएकी छिन् । गुरुङसँगै विष्णुमाया पौडेल मादीबाट महिला क्लस्टरबाट सर्वसम्मत निर्वाचित भएका हुन् । रुपा गाउँपालिकाबाट पनि महिला क्लस्टरमा दुई महिला सर्वसम्मत निर्वाचित भएका छन् । कसिरना मियाँ र हिताकुमारी रुपाखेती ‘सार्की’ जिल्ला सदस्यमा निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया