हेमजा आलु महोत्सवः ८० टन आलु बेच्ने लक्ष्य

समाधान संवाददाता २०८० चैत १८ गते १०:५०

पोखरा ।
चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले शनिबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।


महोत्सवमा करिब ८० टन आलुको कारोबार हुने आयोजकको अपेक्षा छ । प्रतिकेजी ३८ देखि ४० रुपैयाँमा आलु बेच्ने तयारी रहेको क्लब अध्यक्षसमेत रहेका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले जनाए । यो महोत्सव किसानको चाड भएको उल्लेख गर्दै उनले यसलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिएको स्पष्ट पारे ।


मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले हेमजावासीको महोत्सवका रुपमा राष्ट्रिय हेमजा आलु महोत्सवलाई चिनाउँदै त्यससँग हेमजाको पहिचान जोडिएको बताए । यस वर्षको महोत्सवबाट बचत हुने रकमबाट क्लबको बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य राखिएको सुनाए ।

Advertisement


पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिन सुझाव दिँदै आलु महोत्सव किसानको महोत्सव हुनुपर्नेमा जोड दिए । उनले उन्नत विउ लगाए नियमित अवस्थामा भन्दा १५ देखि २० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने उल्लेख गरे ।


सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, कृषि ज्ञान केन्द्र कास्की प्रमुख किरण सिग्देल, क्लवबका सदस्य सन्तोष पौडेल लगायतले बोलेका थिए । अहिले महोत्सवको स्टल निर्माण गरिँदै छ । १ सय ४० स्टल रहनेमा ४० स्टल कृषि उपज प्रवद्र्धनका लागि छुट्टाइएको छ । महोत्सवमा प्रवेशका लागि सर्वसाधारणलाई ८० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँको टिकट लाग्नेछ ।

Advertisement


महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवं लाइभ पप कन्सर्ट लगायत रहनेछन् । हेमजाको १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया