आजलाई विदाई, भाेलिलाई शुभकामना

समाधान संवाददाता २०८० चैत १८ गते १२:५५

पोखरा ।
पोखराको पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कक्षा १२ को वार्षिक परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीका लागि विद्यालयले बिदाई कार्यक्रम आयोजना गरेको थियो । बिदाई कार्यक्रमका लागि कक्षा ११ का विद्यार्थीले संयोजन गरेका थिए ।


सांस्कृतिक कार्यक्रमसहित आयोजित बिदाई कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले बिदाई भई जाने अग्रज विद्यार्थीलाई आगामि दिनका लागि शुुभकामना दिएका थिए । प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले कक्षा ११ का विद्यार्थीले अग्रज कक्षा १२ का विद्यार्थीलाई बिदाई गर्नु आफैमा गतिलो संस्कार भएको बताए । उनले कम्तीमा दुईवर्षको यो अवधिले अगामी दिनमा अघि बढ्न थप ऊर्जा मिल्ने बताए । आगामी दिनमा अझ मेहनतका साथ अध्ययन गरेर भविश्य उज्जवल बनाउन पौडेलको सुझाव थियो ।


‘युवाले अहिलेको ऊर्जाशील समयलाई उपयोग गरेर भविश्यका लागि अघि बढ्नुपर्छ । भविश्य उज्जवल बनाउन लगनशीलता र अटुट निरन्तरता चाहिन्छ,’ पौडेलले भने, ‘सफलताका लागि अनुशासन पनि चाहिन्छ ।’ अध्यक्ष पौडेलले बेलैमा आफ्नो महत्व बुझेर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । अहिलेको प्रतिस्पर्धाले भोलिको भविश्य निर्धारण गर्ने पनि उनले बताए ।

Advertisement


विद्यालयका प्राचार्य किरण सापकोटाले सफलताको यात्रामा अगाडि बढ्नका लागि विद्यार्थीलाई हौसला आवश्यक रहेको बताए । सापकोटाले अहिलेसम्म विद्यालयले उत्कृष्ट नतिजा पस्केको र आगामी दिनमा योभन्दा अझ राम्रो नतिजा दिनेमा आफू ढुक्क रहेको बताए । ‘हामीले अहिले विदाइ गरेका भएपनि यो सधैका लागि बिदाइ होइन, आगामी दिनमा थप राम्रोका लागि शुभकामना दिएका हौं,’ सापकोटाले भने, ‘अहिलेका विद्यार्थी भविश्यमा पनि विद्यालयका दूतको रुपमा रहनेछन् ।’ संसारका कुनै पनि कुनामा पुगे पनि विद्यार्थीको सम्बन्ध रहिरहने उनले बताए । ‘हामीले भविश्यमा विभिन्न क्षेत्रमा अब्बल स्थानमा हाम्रै विद्यार्थी पुगेको देख्न चाहेका छौं,’ उनले भने ।


पछिल्लो वर्ष विद्यालयका विद्यार्थीले विभिन्न क्षेत्रमा प्रतिभा देखाएर विद्यालयका लागि मात्र नभई सिंगो पोखराको शैक्षिक क्षेत्रका लागि गुन लगाएको प्राचार्य सापकोटाले बताए । प्राचार्य सापकोटाले जीवनमा जति नै सुकै ठूलो पदमा पुगे पनि आमाबाबु, जन्मथलो र विद्यालयलाई नबिर्सन विद्यार्थीलाई सुझाव पनि दिए ।

Advertisement


‘कुनै बेला हामीलाई अप्ठेरो पर्दा त्यो अप्ठेरो फुकाउने चाबी हाम्रै विद्यार्थी बन्नेछन्,’ उनले भने । प्रतिभा माविमा नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्यापन हुन्छ ।

तपाईको प्रतिक्रिया