जोमसोम विमानस्थलमा एक्सरे मेसिन

सुन्दरकुमार थकाली २०८० चैत १९ गते १०:५४

जोमसोम ।
मुस्ताङको जोमसोम विमानस्थलमा हवाई यात्रुहरुको झोला (लगेज) जाँच गर्ने एक्सरे उपकरण जडान गरिएको छ । नागरिक उड्यन प्राविधिकरणले मुस्ताङको जोमसोम विमानस्थलमा पहिलोपटक हवाई यात्रुको सामान जाँच गर्ने एक्सरे मेसिन सञ्चालनमा ल्याएको हो ।


प्राधिकरणले जोमसोम विमानस्थलका लागि १ थान एक्सरे मेसिन र त्यसलाई चाहिने १ थान डुएट भ्यु कम्प्युटर सेट पठाएपछि आइतबारदेखि जोमसोम—पोखरा हवाई यात्रुको स—सामान एक्सेर मेसिनमार्फत जाँच गर्न थालिएको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख हिरोण शाहले जानकारी दिए ।


यसअघि मुस्ताङको जोमसोम विमानस्थलमा त्यहाँ कार्यरत सुरक्षाकर्मीले निकै लामो समय खर्च गरी सामान्य तरिकाले हवाई यात्रुको झोला जाँच गर्थे । विमानस्थलमा सुरक्षाकर्मीले हातैले खोतलेर यात्रुहरुले लैजाने झोला र सामान जाँच गर्दा त्यहाँ कार्यरत सुरक्षाकर्मी र हवाई यात्रुलाई समेत निकै सास्ती हुने गथ्र्यो ।

Advertisement


मुस्ताङको दुर्गम विमानस्थलमा एक्सरे मेसिन जडान भएपछि हवाई सुरक्षा अभिवृद्धि हुनेछ । यात्रु तथा यहाँ उडान भने हवाई एअरलाइन्स कम्पनीलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


एक्सेर मेसिन जडान भएसँगै त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई सामान जाँच गर्ने विधिका विषयमा आधारभूत तालिम दिन थालिएको कार्यालय प्रमुख शाहको भनाइ छ । उनले एक्सरे मेसिनमा राखेर उपकरणको सहायताले कम्प्युटर स्क्यान गरेपछि यात्रुलै ओसार —पोसार गर्ने सामानको भेरीफाई हुने बताए ।

Advertisement


एक्सरे मेसिनमा राखेर स्वीच अन गरेपछि सामान सर्दै जाने र झोला र लगेजभित्र राखिएका समानलाई क्षणभरमै स्क्यान गर्ने र शंकास्पद वस्तु देखिएमात्रै झोला र लगेजको सुरक्षाकर्मीले खानतलासी गर्ने कार्यालय प्रमुख शाहले उल्लेख गरे । एक्सरे मेसिनले ३० सकेन्डमै सामान स्क्यान गर्छ र सामानभित्रको वस्तुगत अवस्थामा डुएट कम्प्युटरमा देखिन्छ ।


पछिल्लो समय मुस्ताङको जोमसोम विमानस्थल प्रविधि मैत्री बन्दै गइरहेको कार्यालय प्रमुख शाहको भनाइ छ । मुस्ताङको हवाई सुरक्षालाई चुस्त राख्न जोमसोम विमानस्थल परिसरभित्र र बाहिर ८ वटा सिसी टिभी जडान भइसकेको जोमसोम उड्डयन कार्यालयले बताएको छ ।


विमानस्थलमा हवाई सुरक्षालाई चुस्त बनाउन कार्यालयले दसैंअघि हवाई यात्रु कक्षमा जाने आउने बाटोमा वर्क थ्रु मेटल डिडेक्टरसमेत जडान गरिसकेको जनाएको छ । पुरुष र महिला हवाई यात्रुको शरीर जाँच गर्न सुरक्षाकर्मीलाई अलगअलग मेटल डिडेक्टर समेत उपलब्ध गराइएको छ ।

मुस्ताङको जोमसोम विमानस्थल क्रमशः प्रविधि मैत्री बन्दै जान थालेपछि मुस्ताङ भ्रमण गर्ने पर्यटकले कानुनले बर्जित गरेका सामग्री र अवैध रुपमा प्रयोग गर्नसक्ने सामग्रीलाई नियन्त्रण गर्न सहज भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया