१० औं राष्ट्रिय खेलकुद तयारी

समाधान संवाददाता २०८० चैत १९ गते ११:१८

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । परिषदमा आइतबार खेल संघहरुसँग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघलाई निर्देशन दिएको छ ।


परिषदले सबै खेल संघलाई बैशाखभित्र सबै खेल सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडी छनोट गर्न भनेको छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै घोषणा गरिसकेको छ ।


खेल संघहरुको बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखमा हुने पूर्व तयारीका लागि करिब १ करोड ७५ लाख खर्च हुने बताएका छन् । छनोट प्रतियोगिताहरु एक जिल्लामा मात्रै सिमित नगरी सम्भव भएसम्म प्रदेशका सबै जिल्लामा आयोजना गर्ने गरी तयारी गर्नसमेत सदस्य सचिव शर्माले खेलकुद संघहरुलाई आग्रह गरेका छन् ।

Advertisement


सदस्य सचिव शर्माले सबै खेल संघलाई चैत्र मसान्तसम्म दर्ता र नवीकरण गर्न निर्देशन दिंदै नवीकरण नगर्ने खेल संघहरुले लेटर प्याड वा छाप प्रयोग गरेमा परिषदले छाप किर्तेमा मुद्दा चलाउने चेतावनी दिंदै खेल संघहरुको समस्या समाधान गर्न र बलियो बनाउन परिषदले सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए । ‘परिषद खेल संघहरुलाई बलियो बनाउन सहकार्य गर्न तयार छ’, उनले भने, ‘समाजमा हामीले खेल संस्कृतिको सन्देश दिनु छ । तर त्यसभन्दा अघि संघ आफैमा मर्यादित, पारदर्शीसँगै आर्थिक शुसासन कायम गर्न नवीकरण र दर्ता पहिलो शर्त हो ।’


बैठकमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषिराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, ३६ वटै खेल संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया