लोमान्थाङमा १५ करोडका २ सडक योजना

समाधान संवाददाता २०८० चैत २१ गते ९:५९

जोमसोम ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा १५ करोड रुपैयाँका २ सडकका योजना परेका छन् । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा लोमान्थाङ गाउँपालिकाको लोमान्थाङका लागि २ वटा सडक निर्माणमा बजेट विनियोजन गरेको हो ।


धार्मिक तथा ऐतिहासिक र पुरातात्विक सम्पदाले महत्वपूर्ण मानिएको पर्खालले घेरिएको लोमान्थाङलाई सडक सञ्जालले जोड्न बहुवर्षीय योजना अन्तर्गत मन्त्रालयले ५ करोड बजेट लागत स्टमेट गरिएको हो । गण्डकी प्रदेशका सासद नम्डु गुरुङको पहलमा पर्खालले घरिएको लोमान्थाङ बजारको पर्खाल वरिपरि ढलानसहितको १ हजार ९ सय मिटर लामो र ६ मिटर चौडा सडक बाटो निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए ।


यो योजना सांसद गुरुङको छनोटमा प्राथमिकतामा परेको उनले बताए । पर्खालले घेरिएको ऐतिहासिक तथा धार्मिक र सांस्कृतिक संम्पदाले महत्वपूर्ण पर्यटकीय गन्तव्य लोमान्थाङ वरिपरी पक्की ढलान बाटो निर्माणका लागि केही दिनभित्रै ठेक्का प्रक्रियामा लैजाने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

Advertisement


माटोको सहरको रुपमा उपमा पाएको लोमान्थाङ पर्खाल वरिपरी मुस्ताङी सांस्कृतिक राजाको दरबार छ । पर्खालभित्र छोदे गुम्बा र ऐतिहासिक माने छोर्तेन र ढुंगा र माटोले बनेका पुराना घर छन् । पर्खालले वरिपरि ढलानसहितको सडक निर्माण गरी त्यहाँ अवलोकन गर्न जाने पर्यटकलाई सहजताका लागि गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले त्यहाँ बहुवषीय योजनाका रुपमा बजेट सुनिश्चितता गरेको हो ।


लोमान्थाङ पर्खाल वरिपरि ढलान सडक निर्माण योजनाका लागि जेनेक्स इन्जिनियर सोलुसन प्रालिले ३ महिनाअघि डिपिआर फाइनल गरेको थियो । लोमान्थाङ पर्खाल वरिपरि ढलान सडक निर्माणका लागि मन्त्रालयले सहमति दिइसकेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

Advertisement


गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ का लागि ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत लोमान्थाङका लागि १० करोड बजेट विनियोजन गरेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ९ जिल्लाका प्रदेश निर्वाचन क्षेत्रलाई बहुवर्षीय योजनाका लागि ५ करोड र हिमाली जिल्ला मुस्ताङ र मनाङका लागि १० करोड बजेट सुनिश्चित गरिएको हो ।


सो योजना अन्तर्गत लोमान्थाङ स्वागत गेटदेखि लोमान्थाङ पर्खाल हुँदै ढाकरनांगसम्मको १ हजार ९ सय मिटर सडक स्तरोन्नति गरिनेछ । जसमध्ये सुरुको १ सय ५० मिटर सडकमा ४ मिटरको ढलान सडक, त्यसपछिको १ सय ५० मिटरमा ६ मिटर चौडा सडक हुनेछ । तेस्रो चरणको २ सय मिटरमा ७ मिटर सडक चौडा हुनेछ भने अन्तिम फेजमा ५ दशमलव ५ मिटर चौडा सडक बन्नेछ ।


यो सडकका लागि आन्तरिक मामिला मन्त्रालयको सहमति आइनपुगेको कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए । लोमान्थाङ बजारको मुख्य सडकदेखि उत्तर जोमसोम—कोरला मुख्य राजमार्ग सडकको एक निर्वाचन क्षेत्र एक सडक योजनाका लागि पनि ३ महिना अघि जेनेक्स इन्जिनियरिङ सोलुसन प्रालिले डिपिआर तयार गरेको थियो ।

तपाईको प्रतिक्रिया