उडायो सपना सबै हिउँले…

भीमपाणि बराल २०८० चैत २५ गते १०:२६

लेखनाथ ।
२६ वर्षीय सुरज बोहोराले दुवै खुट्टा गुमाउनुपर्ला भन्ने कल्पनासम्म पनि गरेका थिएनन् । तर, नसोचेकै भइदियो । ३ महिनादेखि उनी अप्ठेरो जीवन बाँचिरहेका छन् । उनको उपचारका लागि परिवारले पोखराका विभिन्न अस्पताल हुँदै काठमाडौंसम्म पुर्‍यायो ।


तर, चिकित्सकले उपचारमा ढिलो ल्याइएको जनाउँदै खुट्टा काटेर फाल्नुको विकल्प नरहेको जनाए । सुरज पुसको पहिलो साता साथीहरुसँग घुम्न सिक्लेस पुगेका थिए । सिक्लेसमै रहेको बेला त्यहाँ ३ दिनसम्म हिउँ पर्‍यो । उनका साथीहरु हिउँ खेल्न मस्त बने, उनी पनि साथीहरुसँगै हिउँमा रमाए ।


सिक्लेसबाट फर्केपछि उनको खुट्टमा समस्या देखियो । एक्कासि दुवै खुट्टा झम्झमाउने र दुख्ने हुन थाल्यो । विस्तारै निको होला भन्दै उनी २३ दिन घरमै बसे । त्यस बिचमा खुट्ट निको हुनुको साटो झन धेरै दुख्ने, काला धब्बा देखा पर्न हुन थाल्यो । त्यसपछि परिवारले उनलाई पोखराको फिस्टेल अस्पताल पुर्‍यायो ।

Advertisement


फिस्टेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गर्‍यो । सास्ती त्यतिमै सकिनु थिएन, त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि काठमाडौंको मेट्रो सिटी अस्पताल लगियो । त्यहाँ पुग्दा ६ दिन ढिला भइसकेको चिकित्सकले बताए । सुरजका दुवै खुट्टा बिग्रिइसकेका थिए ।


खुट्टा बिग्रिएको औंल्याउँदै चिकित्सकले त्यसलाई थप फैलिन नदिन बिग्रिएको भाग काटेर फाल्नुपर्ने कठोर अवस्था सुनाए । छोराको खुट्टा निको हुन्छ भन्ने आमा शान्तिलाई लागेको थियो । ‘६ दिन पहिले नै ल्याउन सकेको भए खुट्टा काट्नुपर्ने रहेनछ ।

Advertisement

संक्रमण फैलन सक्ने भनेर डाक्टरले भनेपछि दुबै खुट्टको घुँडामाथि सम्मको भाग काट्नुपर्‍यो,’ शान्तिले सुस्केरा हालिन् ।
बुढेसकालमा सहारा होला भनेको छोराका दुबै खुट्टा गुमेपछि शान्तिको मनमा अशान्ति छ, चिन्ताले घर गरेको छ । यसअघि ४ वर्ष कतार बसेर फर्किएका थिए सुरज । खाडी मुलुकबाट फर्केपछि अलि राम्रो देश गएर धेरै पैसा कमाउँला र स्वेदशमै केही पेशा, व्यवसाय गरौंला भन्ने उनको सपना थियो ।


बुढेसकालमा बाबुआमालाई सुखले राखौंला भन्ने भन्ने उनको धोको थियो । अहिले दुवै खुट्टासगै हिउँले उनका सपना पनि खाएको छ । अबको जीवन कस्तो होला ? प्रश्नमात्र बाँकी छ, उत्तर सोच्न सहज छैन ।


सहयोगको याचना


दुवै खुट्टा गुमाएका सुरजको अहिले घरमै उपचार भइरहेको छ । घाउ निको भइसकेको छैन, नियमित औषधी खाइरहनुपरेको छ । बुवा देबीबहादुर भूपू नेपाली सैनिक हुन् । उनी जागिरको सिलसिलामा डोल्पाबाट पोखरा आएर जम्मा गरेको रकम पोखरामै छोराछोरी पढाउने र बस्ने व्यवस्था गर्नमै सकियो । अहिले सुरजको उपचार गर्दै १०/१२ लाख ऋण लागिसक्यो ।


अब थप उपचार कसरी गर्ने भन्नेमै उनी चिन्तित छन् । कृत्रिम खुट्टा राख्न सके सुरजको दैनिकी केही सहज हुने भन्ने आशा देवीबहादुरलाई लागेको छ । तर उपचारका क्रममै ऋणमा डुबेपछि थप रकम जुटाउने उपाय छैन । देवीले विवश हुँदै थप औषधी उपचारका लागि उनले सहयोगको याचना गरेका छन् ।


बुधबारमात्रै नारायणदत्त दुर्गा स्मृति कोषले उनलाई नगद २० हजार ५ सय १५ रुपैयाँ सहयोग गरेको छ । कोषमा रहेको ६ लाख ६ हजार ६ सय छ रूपैयाँबाट हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएकोमा अहिले समुदाय स्तरमा सहयोग गरेको अध्यक्ष देवेन्द्र रानाभाटले बताए । पूर्व सभामुख तारानाथ रानाभाटको परिवारले यो कोष स्थापना गरेको हो ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया