पर्यटन प्रवद्र्धनका लागि मेला महोत्सव

समाधान संवाददाता २०८० चैत ३० गते १२:१२

पोखराको समग्र पर्यटन प्रवद्र्धनको लागि वेला वेलामा बृहत खालका मेला महोत्सव सञ्चालन गरिएको छ । मेला महोत्सव लगायतका विभिन्न गतिविधिलाई बढाएर आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउनको लागि पहल भएको छ ।


सशस्त्र द्वन्द्व तथा कोभिड १९को कारण तहस नहस भएको पर्यटन क्षेत्रलाई उकास्न वेला वखत प्रवद्र्धनात्मक कार्यक्रम गरिदै आएको छ । पर्यटन व्यवसायीले जाऔं है पोखरा लगायतका अभियानले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन सघाएको छ ।
पर्यटन बोर्ड, निजी क्षेत्र, गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रवद्र्धन अभियान चलाउँदै आएका छन् । नेपाली नयाँ वर्ष २०८०को सुरुवातसँगै भएको फेवा नयाँ वर्ष महोत्सव लगायतका गतिविधिले पर्यटनको प्रवद्र्धनको लागि सघाएको छ ।


प्राकृतिक सुन्दरता, ताल तलैया र हिमालको दृश्यावलोक गर्न सकिने पोखरा, स्वदेशी विदेशी पर्यटकको रोजाईमा परेको छ । नेपाल आएका पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने अनुमान गरिएको छ । गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले पर्यटनको राजधानी घोषणा गरेर पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई बढवा दिएका छन् । पोखरालाई पर्यटनको राजधानी घोषणाको लागि संघीय सरकारलाई सिफारिस गरेको भएतापनि संघ सरकारले कुनै निर्णय नगर्दै दुबै सरकारी निकायले मापदण्ड तोकी तथा अवधारणापत्र तयार गरी राजधानी घोषणा गरिएको छ ।

Advertisement


आन्तरिक रुपमा पर्यटकीय गतिविधि भएका छन् । जसले पर्यटन क्षेत्रलाई सुदृढ बनाउन सहयोग पुगेको छ । पोखरा प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ जाने प्रवेश द्धार हो । अन्नपूर्ण पदमार्गका अलवा हिमाल आरोहण जाने पर्यटक समेत पोखरालाई आधार मानेर जाने गर्दछन् । पोखरालाई केन्द्र मानेर गतिविधि बढाएर आसपासको पर्यटनको प्रवद्र्धन गर्नु पर्छ ।

नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुका साथै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनु पर्छ । त्यस्तो गरेमा पोखरा आएका पर्यटकको बसाई लम्बाउन सकिन्छ । सबै प्रदेशबाट पोखरा आउने सडक सञ्जाल व्यवस्थित गरेर आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई बढवा दिन प्रयास भएको छ । अन्तर प्रदेश हवाई सेवा विस्तारलाई निरन्तरता दिनु पर्छ ।

Advertisement


हरेक ठाउँबाट पोखरा आउने सडक पूर्वाधारको सुधारका अलवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न ध्यान दिनु पर्छ ।


पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखरालाई व्यवहारमा रुपान्तरण गर्ने नारा अगाडी सारेको छ । गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले पर्यटनलाई विशेष महत्व दिदै आएको छ । पोखरा पर्यटन परिषद्, होटल संघ पोखरा, नाट्टा, रेवान पोखरा लगायतका पर्यटन व्यवसायीका संघ संस्था मेला महोत्सव लगायतका गतिविधि बढाएर पर्यटनको प्रवद्र्धनात्मक गतिविधि गरेका छन् । सरकारी निकाय तथा पर्यटन बोर्डले पर्यटन क्षेत्रका नीतिगत सुधार र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनु पर्छ । सरोकारवाला निकायको समन्वय र सहकार्यमा पर्यटन प्रवद्र्धनका काम गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया