पर्यटन र कृषिमार्फत आत्मनिर्भर बन्दै चामे

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख २ गते १३:२५
अन्नपूर्ण पदमार्ग अन्तर्गत चामे गाउँपालिका १ तिमाङबाट मनाङ तर्फ जाँदै गरेका विदेशी पर्यटक । यहाँ आउने पर्यटक विशेष गरि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल हुँदै पाँच हजार चार सय १६ मिटरमा रहेको थोराङ्ला पास जाने गर्दछन्। तस्बिर : नवीन लामिछाने / रासस

मनाङ ।
मनाङ पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ । यस ठाउँको आयस्रोत नै पर्यटन र कृषि मानिन्छ । मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण छ । मनाङको मुख्य केन्द्रका रूपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्पष्ट योजना बनाएर नै पालिकाको विकास र समृद्ध बनाउन सकिने बताए ।


‘पालिकावासीलाई आत्मनिर्भर बनाउन आवश्यक छ, कसरी पालिकालाई समृद्ध बनाउन सकिन्छ भनेर आवश्यक योजना निर्माणकै चरणमा छौँ,’ उनले भने । सबै क्षेत्रमा काम गरिरहेका भए पनि दिगो र भरपर्दो योजना अझै निर्माण गरी नसकेको उनले बताए ।


यहाँको विकासका लागि कृषि र पर्यटन क्षेत्र भएको अध्यक्ष घलेले बताए । यसका साथै सडक सञ्जालको विकास पनि आवश्यक रहेको उनको भनाइ छ । पालिकाको विकासमा शिक्षा र स्वास्थ्यको पनि उत्तिकै महत्त्व छ । ‘स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर महत्त्व दिनुपर्छ । जिल्लाकै केन्द्र र विद्यार्थीको शैक्षिक उन्नयनका लागि पालिकाभित्र दुई आवासीय विद्यालय सञ्चालनको तयारी छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएको अवस्थामा गुणस्तरीयता कायम गर्ने भूमिकामा पालिका लागिपरेको छ,’ उनले भने ।

Advertisement


पर्यटकीय याम सुरू भए पनि धुलाम्मे सडकका कारण पर्यटकले सास्ती बेहोर्नुपरेको छ । पर्यटन प्रवर्द्धन गर्न वैकल्पिक पदमार्ग निर्माण गरिरहेको अध्यक्ष घलेले बताए । ‘वडा नं १ र २ मा लगभग सम्पन्न भइसकेको छ । वडा नं ३ र ४ मा योजना बनाउँदै छौँ । ४ नं वडाको कजिनसरा ताललाई प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण तथा धर्मशाला बनाउँदै छौँ,’ उनले भने । बाह्य पर्यटकलाई आकर्षित गर्नकै लागि पूर्वाधार निर्माणका काम भइरहेका अध्यक्ष घलेले बताए ।


विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिएको पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य अन्नपूर्ण पदमार्ग र तिलिचो ताल मानिन्छ । यहाँ आउने पर्यटकमार्फत नै आयस्तर वृद्धिमा जोड्न सक्नुपर्ने उनको भनाइ छ ।

Advertisement


यस क्षेत्रको मुख्य आकर्षक त्यहाँबाट देखिने हिमशृंखला, ताल एवं सांस्कृतिक स्वरूप र प्राचीन बौद्ध गुम्बा, वनजंगल र जातजातिको एकता नै हुन् । चामेमा अवस्थित पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राकृतिक सम्पदा लमजुङ हिमाल, काजिन सरा (सिंगर) ताल, तातोपानी कुण्ड, पदमार्ग, लालीगुराँस बगैँचालगायत प्राकृतिक सौन्दर्यका विषयमा पर्यटकलाई जानकारी दिने योजनाअनुसार काम गरिरहेको अध्यक्ष घलेले बताए ।


मनाङमा स्याउ, आलु, फापर, जौ, गहुँ, करु र उवा उत्पादन हुन्छ । यहाँको उत्पादनले बढीमा तीन महिना मात्रै खान पुग्छ । अध्यक्ष घलेले भने, ‘पर्यटकलाई अर्ग्यानिक खुवाउन मुस्किल छ । कृषिलाई प्रवर्द्धन गर्नु आवश्यक ठानेका छौँ । यहाँको उत्पादन कम समयका लागि पुग्ने हुँदा बाहिरबाट किनेर खुवाउन बाध्य छौँ । अर्गाानिक खानालाई प्राथमिकतामा राखेर कृषि प्रवर्द्धन गरी कृषितर्फ पालिकावासीलाई आकर्षित गर्नेतर्फ योजना बनाएका छौँ ।’ स्थानीय उत्पादन भएन भने पर्यटक आउने बस्ने, बाहिरकै खानेकुरा खाएर पठाउन बाध्य हुने उनको भनाइ छ ।


स्थानीय उत्पादन खाद्यवस्तु उत्पादन गर्न नसक्दा बाहिरी वस्तु ल्याएर काम पकाउने र दिने मात्रै भएको अध्यक्ष घले सुनाउँछन् । उनले भने, ‘यहाँ प्रत्येक वर्ष लाखौँ पर्यटक भित्रिन्छन् । तर ती पर्यटकलाई यहीँको उत्पादन खुवाउन सकिएको छैन । यो दुःखको विषय हो । पर्यटकलाई यहीँको उत्पादन खुवाउन सकियो भने नागरिकको आर्थिक अवस्था उकासिन्छ । त्यसैले उत्पादनलाई जोड दिइरहेका छौँ ।’ खाद्यवस्तु सञ्चितिका लागि अहिले चामेमा चिस्यान केन्द्र स्थापना गरिएको उनले जानकारी दिए ।


सामूहिक खेतीलाई प्राथमिकता दिएको अध्यक्ष घलेले बताए । निकट भविष्यमै चामेमा कृषि उपज संकलन केन्द्र बनाउने योजना बनाइएको उनले बताए । कृषि र पर्यटनलाई मुख्य जीविकोपार्जन र आर्थिक विकासको स्रोतका रूपमा विकास गर्ने योजना बनाइएको उनले बताए यस दीर्घकालीन सोचले गाउँपालिकालाई स्वच्छ, सहज, सफा, पर्यटकीय तथा गरिबीमुक्त र समृद्ध गाउँपालिकाका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष घलेले सुनाए ।


चामे–३ का वडा अध्यक्ष विनोद लामाले विकट तर पर्यटकीय स्थान भएकाले यसलाई प्राथमिकता दिएर योजना निर्माण गरी आयसँग जोड्ने प्रयासमा रहेको बताए । चामे–४ का वडाध्यक्ष लबसाङ लामाले यहाँका पर्यटकीय गन्तव्यको खोजी तथा प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकाससँगै आयस्रोत बढाउन योजना बनाएर अगाडि बढेको बताए ।

विकट क्षेत्र, पूर्वाधार अभाव तथा सम्बन्धित विषयसँग विज्ञ ल्याउन खर्चिलो हुँदा पनि यहाँका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुन सकेको छैन । यस्ता विकट क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको खोजी तथा प्रवद्र्धन गर्न सके देशकै आर्थिक वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ छ । रासस

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया