‘शिक्षा सबै विकासको पूर्वाधार’

समाधान संवाददाता २०८१ वैशाख २ गते १३:२७

पोखरा ।
पूर्व प्राथमिक तहका विद्यार्थीको शिक्षण सिकाइमा सुधार ल्याउन रुपा गाउँपालिकाका बाल विकास केन्द्रका शिक्षकहरुलाई मन्टेसरी तालिम दिइएको छ । रुपाका १९ विद्यालयका २५ शिक्षकको सहभागिता रहेको ५ दिने तालिममा सकिला शाहीले सहजीकरण गरेकी छिन् ।


पालिकाका अध्यक्ष नवराज ओझाले तालिमको उद्घाटन गर्दै शिक्षा सबै विकासको पूर्वाधार भएको बताए । बाल बालिकालाई पहिलो प्राथमिकतामा राखेर शिक्षाको कार्यक्रम गरेको उनले जानकारी दिए ।


पालिकाको साझेदारीमा असल छिमेकी सहयोग संघ (गोनसा) पोखराकाले सञ्चालित सामुदायिक विकास परियोजनाको व्यवस्थापनमा भएको कार्यक्रममा अध्यक्ष ओझाले विपन्न वर्गका विद्यार्थीलाई कक्षा कोठामा नियमित गर्न अभिभावकलाई आयआर्जनमा जोडेको उल्लेख गरे ।

Advertisement


‘माध्यमिक तहको शिक्षाको जिम्मा स्थानीय तहले पाएको छ,’उनले भने, ‘बाल बालिकालाई केन्द्र बिन्दुमा राखेर विद्यालय तथा समुदाय स्तरमा शैक्षिक कार्यक्रम गरेका छौं ।’ उनले कक्षा १ देखि ३ सम्मको लागि समाज बुझ्ने र घुलमिल हुने खालको पाठ्यक्रम निर्माण गर्ने बताए । उनले शिक्षक विद्यार्थी र अभिभावकको त्रिकोणात्मक समन्वयबाट शैक्षिक गुणस्तर कायम गर्न सकिने चर्चा गरे ।


गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले बाल बालिकाको क्षेत्रमा गरेको लगानी राष्ट्रिय गौरवको विषय बन्न पर्ने उल्लेख गरे । देश कस्तो बनाउने भन्ने विषय शिक्षा र स्वास्थ्यमा गरिएको लगानीसँग जोडिने तर्क गर्दै उनले असल र सभ्य नागरिक बनाउन अभियानलाई सफल बनाउन मानवीय क्षेत्रको विकासमा लगानी बढाउनुपर्ने सुझाव दिए ।
बालबालिका घर परिवारको ऐना भएको दाबी गर्दै उनले घर परिवारको अवस्था बाल बालिकाको मुहारमा झल्कने बताए । उनले बाल सहभागिता सहितको शिक्षण सिकाईमा ध्यान दिन सुझाव दिए ।

Advertisement


स्थानीय सरकार सक्षम र बलियो भएको खण्डमा सामाजिक संघ संस्थाहरु वकालत, सुशासन प्रबद्र्धन र अधिकारमुखी अवधारणाका कार्यक्रममा सिमित हुने बताए । उनले पालिकाको नेतृत्वमा शिक्षा, कृषि र पशुपालनको कार्यक्रम सञ्चालन भएको जानकारी दिए । उनले बाल बालिकालाई अधिकारको खोजीसँगै कर्तव्य पालना गर्न सुझाव दिए ।


कार्यक्रममा गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्माले रुपाले बाल बालिकाको सर्वोत्तम हितका काम गर्नु पर्ने बताए । संसार भरीको कार्यक्रममा नेपाल सरकारले शिक्षा क्षेत्रमा २० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाए पनि शिक्षा क्षेत्रको बजेट ११ प्रतिशत सिमित भएको उनले उल्लेख गरे । उनले सामुदायिक विकास कार्यक्रम अन्तर्गत बाल संरक्षण नीति निर्माण गर्ने लगायत गतिविधि गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया