बेनी–जोमसोम–कोरला सडक ४८ किमि कालोपत्र

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख २ गते १३:३६

म्याग्दी ।
दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।


भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने ४ सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ ।


पर्वतको मालढुंगादेखि म्याग्दी हँुदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो । चौध वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख धु्रवकुमार झाले बताए ।
‘छ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी सडक कालोपत्र भएको छ,’ उनले भने, ‘यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएको छ । छ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् ।’

Advertisement


मुस्ताङको कैकु–खन्ती खण्डमा १६ किमी, खन्ती–टुकुचे–मार्फा खण्डमा नौ किमी आक्सफाल्ट प्रविधिको कालोपत्र भएको छ । मुस्ताङको घाँसा–कैकुखोला खण्डमा दुई किमी, म्याग्दीको तिप्ल्याङ–तातोपानी खण्डमा छ किमी, बेनी–गलेश्वर खण्डमा चार किमी र गलेश्वर–बेगखोला खण्डमा तीन किमी डिबिएसडी प्रविधिको कालोपत्र भएको हो ।


मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुंगा–बेनी खण्डको विभिन्न ठाउँमा तीन किमी बढी सडक ढलान भएको छ । मालढुंगा–बेनी सडकको मालढुंगा–लस्ती खण्डमा छ किमी, बेगखोला–तिप्ल्याङ खण्डमा दुई किमी र पोखरेबगर–तातोपानी खण्डमा एक किमी कालोपत्रको तयारी भएको छ ।

Advertisement


१३ किमी दूरीको जोमसोम–कागबेनी, तातोपानी–घाँसा खण्डमा छ किमी, मार्फा–जोमसोम खण्डमा छ किमी सडक पनि चालु आर्थिक वर्षभित्र नै कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए । १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको हालसम्म करिब ७ अर्ब खर्च भएको जनाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया