लेते—धम्पु पुल धमाधम

४ वर्षमा ३० प्रतिशतमात्र काम भएको लेते–धम्पु मोटरेबल पुल ०८२ असारभित्रै सक्ने लक्ष्य छ

सुन्दरकुमार थकाली २०८१ वैशाख ३ गते १०:४६

जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिका वडा २, ३ र ५ जोड्ने कालिगण्डकी नदीमा लेते र धम्पु जोड्ने मोटरेबल पुलको काम अहिले धमाधम भइरहेको छ । नर्माण कम्पनीको चरम ढिलासुस्तीले लामो समयदेखि अलपत्र बनेको यो पुल निर्माणको कामले चैत महिनाबाट गति लिएको हो ।


बेनी जोमसोम कोरला मुख्य राजमार्गसँगै जोडेर निर्माण गर्न लागिएको लेते धम्पु पक्की पुलको काम पटक पटकको ताकेतापछि अहिले अघि बढेको हो । निर्माण कम्पनीका ठेकेदारलाई सम्पर्कमा ल्याएर पुल निर्माण कार्य अघि बढाइएको पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिए । मुख्य राजमार्ग सडकदेखि पश्चिमतर्फ रहेका गाउँहरु धम्पु, टिटी, सिर्खुम, कुञ्जो, ताक्लुङ आदिलाई सडक सञ्जालले जोड्ने गरी २०७६ फागुन २९ गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।


प्रतिकूल मौसम, कोरोना कहर र निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणमा ढिलाइ भएको थियो । कालिगण्डकी नदीको लेते धम्पु ३५ मिटरको पक्की पुल निर्माणका लागि ५ करोड ५ लाख लागतमा देव एन्ड सायर कन्टक्सनले ठेक्का सम्झौता गरेको थियो । फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा सिंगल स्पानको ३५ मिटर लामो पुलको पछिल्लो भौतिक प्रगति ३० प्रतिशत मात्र छ । निर्माण कम्पनीले हालसम्म १ करोड ६३ लाख ६२ हजार रुपैयाँ भुक्तानी लगिसकेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

Advertisement


४ वर्षअघि ठेक्का सम्झौता भई पुल निर्माणको काम अघि बढाइएको भए पनि ठेकेदार कम्पनीका कारण पुल निर्माणमा चरम ढिलासुस्ती भइरहेको त्यस क्षेत्रका स्थानीयको गुनासो छ । पुलको सुरुवाती ठेक्का सम्झौताबाहेक दुई पटकसम्म म्याद थप भइसकेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोक्कामगरले बताए ।


अहिले फेरि पुलका म्याद थप गर्ने प्रक्रियामा चलिरहेको छ । पछिल्लो पटक थपिएको म्याद २०७९ चैत २८ गते सकिएको छ । सरकारले सार्वजनिक खरिद नियमावली ऐन १३ संशोधन कार्यान्वयमा ल्याइसकेकाले पुलको म्याद थप गर्न कुनै कठिनाई नहुने कार्यालयका सूचना अधिकारी रोक्कामगरले उल्लेख गरे ।

Advertisement


कालिगण्डकी नदीमा निर्माणाधीन लेते—धम्पु पक्की पुल ४ वर्षमा जम्मा ३० प्रतिशतमात्र भौतिक प्रगति हुनु दुर्भाग्य भएको सिर्खुमका स्थानीय नवीन शेरचनले टिप्पणी गरे । उनले स्थानीय स्तरमा पुलको काम गर्न कुनै समस्या नभएको तर निर्माण कम्पनीको आन्तरिक कारणले विकासको कामलाई बन्धक बनाउन नहुने उल्लेख गरे ।


कालिगण्डकी नदीमा पुल बनेमा काली पारीका गाउँलाई आउजाउका साथै कृषि उत्पादन बजारीकरणमा समेत टेवा पुग्नेछ । पुलको कालिगण्डकी नदीको बाँयातर्फको भागमा एबिटमेन्ट खडा भइसकेको छ ।


दाँयातर्फको भागमा फाउन्डेसन संरचना निर्माणका लागि २ एस्काभेटरले जमिन खनिरहेका छन् । पूर्वाधार विकास कार्यालय मुस्ताङले लेते धम्पु पक्की पुल निर्माणको काम आर्थिक वर्ष २०८२ को असार मसान्तभित्र सक्ने लक्ष्य लिएको छ । पुल निर्माणका लागि अहिले १८ जना मजदूर खटिएका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया