८० प्रतिशत सार्वजनिक गाडीको प्रदूषण जाँच फेल

आँखाले हेरेका भरमै हुन्छ गाडीको जाँच पास

सञ्जय रानाभाट २०८१ वैशाख २० गते १०:३२

पोखरा ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरीले गत हप्ता सडकमा अत्यधिक धुवाँ फाल्ने दुइटा सवारी साधनलाई नियन्त्रणमा लियो । पोखरा नगर क्षेत्रभित्र सञ्चालित ग१ख ८१२४ नम्बरको नगर बस र ग१ख ६९६१ नम्बरको टिपरलाई आँखाले देखेकै भरमा प्रहरीको गाडीले स्कटिङ गर्दै पछाएर नियन्त्रणमा लिएको थियो ।


धुवाँको मुस्लो फाल्ने ती सवारी साधनले कति मात्रामा प्रदूषण गरेका थिए ? जाँच गर्ने मेसिन प्रहरीसँग थिएन । आँखाले देखेकै भरमा प्रहरीले मुस्लो फाल्ने त्यो साधनलाई अवस्था ठिक नभएको शीर्षकमा कारबाही सिफारिस गरेर छाड्यो । बसलाई भने यातायात कार्यालय पोखरामा प्रदूषण जाँचका लागि पठाइयो । यातायात व्यवस्था कार्यालयले उक्त नगरबसका धनीलाई साढे ७ हजार जरिवाना तिराएर छाडिदियो ।


मुस्लो फाल्न बन्द गर्ने गरी मर्मत गर्न मौखिक रुपमा सुझाइयो । यातायात कार्यालय पोखराले बसको प्रदूषण दर कति थियो ? सञ्चालन गर्न मिल्ने भएर छाडियो कि यत्तिकै भन्ने कुरा बाहिरिएको छैन । यद्यपि यातायात कार्यालयको फितलो कारबाहीले ट्राफिक प्रहरीहरु पनि निराश छन् ।

Advertisement


ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर भानु शर्मा सबैभन्दा बढी प्रदूषणबाट प्रहरी नै मारमा परेको सुनाउँछन् । ‘सडकमा बसेर यातायात प्रबन्ध मिलाउन नै हामी हौं । उजुरी पनि हामीलाई नै पर्छ । तर, हामीसँग न जाँच गर्ने मेसिन छ । न त प्रदूषण गरेकै भारमा कारबाही गर्ने अधिकार,’ इन्स्पेक्टर शर्माले भने ।


ट्राफिकले कारबाहीका लागि नियन्त्रणमा लिई यातायातमा बुझाएका गाडी जरिवाना तिरेर फुस्केपछि सडकमा हुइँकिरहेका छन् । तर, धुवाँको मुस्लो नियन्त्रण गर्ने गरी यातायात व्यवस्था कार्यालयले दीर्घकालीन समाधानको बाटो खोजेको छैन । न प्रदूषण नियन्त्रण गर्ने गरी कडा कारबाही गरेको भेटिन्छ ।

Advertisement

यातायात कार्यालय रिन्यु गर्न पुगेका सवारी सबैलाई पास मार्क दिएर रिन्यू गरिएको पत्र भेटिन्छ । बुधबार पोखरा न्युरोडको सडकमा हुँकिइरहेका केही सार्वजनिक सवारी साधनलाई रोकेर जाँच गर्दा ८० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल भए ।

हामीसँग न जाँच गर्ने मेसिन छ, न त प्रदूषण गरेकै भरमा कारबाही गर्ने अधिकार
भानु शर्मा
प्रमुख, ट्राफिक प्रहरी कार्यालय कास्की

पोखराको सडकमा धुवाँको मुस्लो निकाल्दै हुइँकिने बसको आतंक नै देखिन्छ । ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयको संयुक्त अभियानको जाँचमा ८० प्रतिशत सवारी फेल हुनुले यातायात कार्यालय सवारीमा प्राविधिक जाँच कसरी परीक्षण हुन्छ प्रश्न खडा भएको छ ।


यातायात कार्यालय सवारीका पोखराका प्रमुख डिल्लीराम रिज्याल यसअघि प्रदूषण जाँच गर्ने मेसिनको कमी भएको बताउँछन् । ‘आँखाले हेरेर जाँचपास गर्दा धेरै समस्या भयो । हामीसँग प्रदूषण मापन गर्ने २ वटा मेसिनमात्र थिए । त्यसले डिजेलका गाडीको मात्र प्रदूषण मापन हुन्थ्यो,’ उनले भने ।


बुधबार पोखराको न्यूरोडमा गुडिरहेका गाडीलाई जाँच गरिएको मेसिन पनि डिजेलबाट चल्ने गाडीलाई मात्र गरिएको हो । सवारीका प्रमुख रिज्यालले अब कालो धुवाँको मुस्लो फाल्ने गाडीलाई कानुनी दायरामा ल्याउने बताउँछन् । उनका अनुसार अब रुट परमिट खारेज गर्नेसम्म कारबाही गरिनेछ ।


पोखरामा बुधबार गरिएको सवारी जाँचमा ३५ मध्ये ३० वटा सवारीमा कैफियत देखिएको इन्स्पेक्टर शर्मा बताउँछन् । उनी भन्छन्, ‘३५ वटा गाडीको प्रदूषण मापन गर्दा ३० वटा फेल भए । यो भनेको पोखरामा डिजेलबाट गुड्ने सवारीको प्रारम्भिक तथ्यांक हो ।’


बुधबार जाँच गरिएको गाडीको तथ्यांकलाई आधार मान्दा पोखराको सडकमा गुडेका ८० प्रतिशत डिजेल गाडीमा कैफित देखिने लगभग पक्का छ । किनभने यातायात कार्यालयले कुनै पनि सवारीलाई यसरी जाँच नगरी पास गराएर परमिट दिइरहेको प्रष्ट बुझ्न सकिन्छ ।


ट्राफिकका इक्स्पेक्टर शर्माले प्रहरीसँग जाँच गर्ने मेसिन भए दैनिक सवारी परीक्षण गर्ने बताउँछन् । ‘मेसिनले ३० भन्दा कम देखायो भने पास हुने रैछ । तर, बुधबार गरिएको परीक्षणमा केही गाडीको ६५ सम्म ओप्पासिटी देखिएको थियो,’ इस्पेक्टर शर्माले भने ।


२० वर्ष पुराना गाडी पनि रुट परमिट सजिलै पाउँछन् । रङ लगाउँदै नयाँ जस्तो भ्रम दिएर गुडिरहेका छन् । अधिकांश गाडी नियमित सर्भिसिङसमेत नगर्दा यस्तो समस्या आउने गरेको स्वयं सवारीधनी बताउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया