हाइ अल्टिच्युड शिविरमा ५ सय सेवाग्राही

सुन्दरकुमार थकाली २०८१ वैशाख ३ गते १२:३०

जोमसोम ।
मुस्ताङको घरपझोङ ४ जोमसोममा सञ्चालित एक हप्ते हाइ अल्टिच्युड शिविरबाट ५ सय पर्यटक लाभान्वित भएका छन् । शिविरमा दुई तिहाई नेपाली र एक तिहाई भारतीयले शिविरमा स्वास्थ्य परीक्षण गराएका हुन् ।


गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजना तथा प्रदेश प्रहरी अस्पतालका प्राविधिक सहकार्यमा चैत २५ गतेखि शिविर सञ्चालन गरिएको हो । शिविर मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सुरुआत गरेका थिए । त्यसपछि मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य परीक्षण गरिएको थियो ।


समुन्द्री सतहको उच्च उचाईमा आउने दर्शनार्थी तथा पर्यटकलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य शिविर आइतबार सकिएको हो । समापनमामा शिविरमा भएको प्रगति र यहाँका हाइ अल्टिच्युड समस्या र चुनौतिका विषयमा प्रदेश प्रहरी अस्पतालका स्वास्थ्य प्राविधिक भुवन विकले प्रस्तुतीकरण गरे । उनले पर्याप्त पूर्वाधार नभएको र कम स्वास्थ्य जनशक्ति परिचालन हुँदा लक्ष्य अनुसार पर्यटक तथा दर्शनार्थीको स्वास्थ्य परीक्षण गर्न नसकिएको सुनाए ।

Advertisement


जिल्ला समन्य समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले प्रहरी निकायद्वारा आयोजना गरिएको हाइ अल्टिच्युड शिविरले सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले यस प्रकारको अभियानमा सबै सरोकारवाला निकायको हातेमालो भएमात्र मुस्ताङ भित्रिने पर्यटक तथा दर्शनार्थीलाई हाइ अल्टिच्युड जोखिमबाट मुक्त गर्न सकिने बताए ।


सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले राष्ट्रसेवक प्रहरीले आफ्नो भूमिकामा भन्दा बाहिर रहे पनि सामाजिक उत्तरदायित्व बहन गर्ने गरिएको स्वास्थ्य शिविर प्रशंसनीय कार्य भएको बताए । जोमसोममा आयोजित हाईअल्टिच्युड शिविरमा प्रदेश प्रहरी अस्पतालबाट मेडिकल अधिकृच मृदुषा श्रेष्ठसहित ३ जनाको टोली मुस्ताङ आएको थियो ।

Advertisement


प्रहरीको शिविरमा मुस्ताङ अस्पतालले पनि सहयोग पुर्‍याएको थियो । धावनमार्ग तथा हवाई मार्गबाट मुस्ताङ आएका पर्यटक तथा दर्शनार्थीलाई स्वास्थ्य समस्याका बारेमा सोधपुछ गरी स्वास्थ्य परीक्षण गरिएको थियो । पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई लेक लाग्ने जोखिम देखिएको छ । पछिल्लो ३ आर्थिक वर्ष २९ जनाले यसका समस्याका कारण ज्यान गुमाईसकेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा ११ दर्शनार्थी तथा पर्यटकले यो समस्याका कारण ज्यान गुमाईसकेको प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए ।


समुन्द्री सतहको २५ सय मिटर माथिको क्षेत्रमा जाँदा ठाउँ ठाउँमा विश्राम गर्दै जान जानकारहरु सुझाउँछन् । त्यसका अलावा शिविरमा पर्यटक तथा दर्शनार्थीलाई हाइ अल्टिच्युडका समस्या, लक्षण र समाधानका उपायबारे लेखिएको पर्चा पम्प्लेट वितरण गरिएको थियो ।

चैते दसैंदेखि चैत मसान्तसम्म झन्डै २० हजार पर्यटक तथा दर्शनार्थी मुक्तिनाथ दर्शन गर्न आएको र मुक्तिनाथमा आउने कसैलाई पनि हाइ अल्टिच्युडको समस्या नदेखिएको मुक्तिनाथ झारकोट प्रहरी चौकीका इन्चार्ज सुवास अघिकारीले जानकारी दिए । उनले हाइ अल्टिच्युट सचेतना निरन्तर हुन सकेमा कसैले पनि यसका कारण ज्यान गुमाउनु नपर्ने बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया