जोमसोम—कोरला सडक भासिँदा यातायात अवरुद्ध

समाधान संवाददाता २०८१ वैशाख ७ गते ११:१६

जोमसोम ।
कोरला नाका र मुक्तिनाथ जाने महत्वपूर्ण सडक फेरि भासिन पुगेको छ । घरपझोङ—३ पुथाङ एअरपोर्ट हुँदै जोमसोम पक्की पुलको दुरीमा पर्ने जोमसोम अस्पताल नजिकको मुख्य राजमार्ग सडक मंगलबार बिहान ११ बजे भासिन पुगेको हो ।


उक्त दुरीमा कालीगण्डकी गण्डकी कोरिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले कालीगण्डकी नदीको सतहदेखि आरसीसी संरचना उठाएर सडक स्तरोन्नति गर्दै गरेको थियो ।

सडक स्तरोन्नति भइरहेको स्थानमा पुन करिब ५० मिटर सडक भासिन पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए । यसपटक सडक भासिन पुग्दा सडकको पुरै संरचना चर्किएर भुइँ फाटेको उनले बताए ।

Advertisement


सडक क्षति भएको स्थानमा पुगेका स्थानीय शेरबहादुर गुरुङले निर्माण कम्पनीको चरम ढिलासुस्तीले जोमसोमको सडकमा सवारी तथा यात्रुले निकै सास्ती भोग्न बाध्य भएको बताए । पछिल्लो अवस्थामा सडक जोखिममा पर्दा त्यस आसपासका घरहरूमा समेत थप जोखिम परेको उनले जनाए । निर्माण कम्पनीले सजिलो स्थानमा मात्र काम गर्ने र अप्ठेरो स्थानमा काम नगर्ने परिपाटीले यो अवस्था आएको गुरुङको भनाई छ ।


पुथाङ एयरपोर्टदेखि जोमसोम पक्की पुलसम्मको करिब सय मिटर सडक चैते दसैँ औंसी तिथिको अघिल्लो दिनमा पनि यसरी नै सडक भासिन पुगेको थियो । जोमसोम सडक पटकपटक भासिने र भत्किने गर्दा बर्खा याममा थप सडकमा थप क्षति हुने अनुमान गरिएको छ ।

Advertisement

जोमसोम सडक पुन भासिँदा बेनी हुँदै मुक्तिनाथ दर्शन गर्न जाने र मुक्तिनाथ दर्शन गरी फर्किने पर्यटक तथा दर्शनार्थीहरुले सास्ती पाएका छन् । सडक अवरुद्ध जोमसोममा झन्डै २ सय सवारी साधनहरू अलपत्र परेका छन् । सडकको पुरै बेस भासिएकाले सडककालाई ग्रेड डाउन गरी सडक खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक विकले जानकारी दिए ।


बेनी जोमसोम ७६ किमी सडकको चौथो खण्ड खन्तीदेखि जोमसोम पक्की पुलसम्मको घरपझोङ ४ जोमसोमको मुस्ताङ अस्पताल नजिक सडक भासिएको हो ।


बेनी जोमसोम कोरला सडक आयोजनासँग २०७४ मा ठेक्का सम्झौता भएको खन्ती जोमसोम १६ किमी सडक अन्तर्गत ८ महिनाअघि करिब १ सय मिटर सडक भासिएको थियो । बेनी जोमसोम सडकको चौथो खण्डमा निर्माण कम्पनीले चरम ढिलासुस्ती भएको छ । यो खण्ड पप्पु गौरी पार्वती कोशी एन्ड न्यौपानेले ७० करोड ५२ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।

तपाईको प्रतिक्रिया