मुस्ताङमा सडकमै देखिने थाले दुर्लभ हिमचितुवा

सुन्दरकुमार थकाली २०८१ वैशाख ९ गते ९:४८

जोमसोम ।
पछिल्लो समय दुर्लभ हिमचितुवा मुस्ताङका सडकमा देखिन थालेका छन् । लोमान्थाङ गाउँपालिकी उपाध्यक्ष छ्युमी बिष्टले लोमान्थाङबाट जोमसोमतर्फ आउँदै गर्दा वारागुङ मुक्तिक्षेत्र—३ समर खोलामा ३ वटा हिमचितुवा देखेकी हुन् ।


उनले लोमान्थाङबाट जोमसोम आउँदै गर्दा शुक्रबार दिउँसो ४ बजेर ३३ मिनेट जाँदा जोमसोम—कोरला सडकमार्गको समर खोलामा उक्त हिउँ चितुवा देखेकी हुन् । उनले यात्राका क्रममा सडक छेउमा देखेको हिउँ चितुवाको तस्बिर आफ्नो मोबाइलमा समेत कैद गरेकी छन् । उनले खिचेका हिमचितुवाको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा समेत पोस्ट गरेकी छन् ।


‘लोमान्थाङबाट जोमसोम झर्दै थिएँ, समर खोलामा आइपुग्दा सडकमा हिमचितुवा हिँडेको देखेँ,’ उपाध्यक्ष बिष्टले भनिन्, ‘हामी त गाडीभित्रै थियौं, डर पनि लाग्यो, डराइडराइ भएपनि फोटो खिच्न चाहिँ भ्याएँ । गाडीभित्रको यात्राले जोखिम त थिएन, मनमा भने डरै भयो, मोटरसाइकलबाट यात्रा गर्नेलाई त हिमचितुवाको जोखिम नै ठानेँ ।’ लोमान्थाङकी उपाध्यक्ष बिष्टले कैद गरेको हिमचितुवाको तस्बिर हेर्दा वयस्क हिमचितुवा जस्तो देखिन्छ ।

Advertisement


हिमाली क्षेत्रको उच्चलेकमा वासस्थान जमाएर बस्ने दुर्लभ हिमचितुवाको मुख्य आहार नाउर हो । नाउर पानी खान तल झर्ने र चरन क्षेत्रको खोजी गर्दै बस्ती नजिक झर्ने भएकाले हिमचितुवा नाउरलाई पछ्याउँदै सडक र बस्ती नजिक आउन थालेको हो । हिमचितुवाले वन्यजन्तुको आहार नपाउँदै कृषकले पालेका पशुधन माथि आक्रमण गरी पशुधनको क्षति बनाउने गरेको छ ।

एक्याप क्षेत्रमा १७ र डोल्पामा १ सय २० हिमचितुवा रहेको अध्ययनले देखाएको छ

Advertisement


यसअघि मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ढाक्मरमा ४ वटा हिमचितुवा मध्यरातमा खोरमै पसेर स्थानीय पशुपालकले पालेको ७९ वटा भेडाच्यांग्रा क्षति बनाएको थियो । पछिल्लो समय अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत जोमसोमदेखि माथिल्लो क्षेत्रमा हिमचितुवा र मानवबीच द्वन्द्व चलेको छ । बर्सेनि हिमचितुवाको आक्रमणले उपल्लो भेकमा स्थानीयको भेडाच्यांग्रा, घोडा खच्चड, याकचौरी आदि मारेर क्षति तुल्याउने गरेको छ ।


समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाईमा हिमचितुवाको मुख्य बासस्थान हो । पछिल्लो समय जलवायु परिवर्तनको असर, हिउँ चितुवा र मानवबीचको द्वन्द्व र प्राकृतिक तथा वातावरणीय दोहनका कारण हिमालकी रानी हिउँ चितुवा संकटमा पर्न थालेका छन् । यसअघि गरिएको सर्वेक्षणमा नेपालमा ३ सयदेखि ५ सयको हाराहारीमा हिउँ चितुवा रहेको अनुमान गरिएको थियो ।केही वर्षअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहकार्यमा हरियो वन नामक संस्थाले गरेको अध्ययनमा १७ वटा हिमचितुवा आयोजना क्षेत्रमा रहेको तथ्यांक निकालेको थियो ।


यसैबीच राससका अनुसार हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको संख्या एक सय २० पुगेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्रमा गरी हिउँ चितुवाको संख्या १ सय २० पुगेको हो । निकुञ्जको संरक्षण क्षेत्रबाहिर वन क्षेत्रमा पहिलोपटक अत्याधुनिक प्रविधि क्यामेरा ‘ट्र्याप’ विधिबाट हिउँ चितुवाको गणना गर्दा देशमै सबैभन्दा बढी डोल्पामा हिउँ चितुवा भेटिएको हो ।


पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै ३० वटा हिउँ चितुवा फेला परेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले जानकारी दिए । सर्वेक्षणअनुसार निकुञ्ज क्षेत्रबाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत्रमा प्रतिएक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व १ दशमलव ५ छ ।


डिभिजन वन अधिकृत रावतका अनुसार तीनवटा गाउँपालिकामा रहेको वन क्षेत्रमा पर्ने दुई हजार वर्ग किलोमिटर क्षेत्रफलमा अध्ययन गरिएको थियो । डिभिजन वन कार्यालयको नेतृत्वमा कर्मचारी, विद्यार्थी र विश्व वन्यजन्तु कोषका अनुसन्धानकर्ताले हिउँ चितुवाको सङ्ख्या गणना गरेका थिए । गणनाका लागि वन क्षेत्रका ६६ स्थानमा क्यामेरा जडान गरिएको थियो ।


विश्वमै दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने र त्यसमा पनि नेपालमै सबैभन्दा धेरै डोल्पामा रहेका शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । ४ वर्षअघि क्यामेरा ट्र्याप विधिबाट हिउँ चितुवाको सर्वेक्षण गर्दा शे–फोक्सुण्डो निकुञ्जको संरक्षित क्षेत्रमा ९० वटा फेला परेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया