मनसराः मिश्रित समाजको कथा

समाधान संवाददाता २०८१ वैशाख ९ गते १०:२९

पोखरा ।
‘मनसरा’ धान एक्लै लगाइँदैन, किनकि योमात्र ब्याड राख्दा नफल्ने, बाली राम्रो नहुने जनविश्वास छ । दह्रो डाँढ भएको, खाएपछि आँटिलो मनसरालाई अरु धानसँग मिलाएर रोपिन्छ । आख्यानकार एवं चलचित्र निर्देशक उपेन्द्र सुब्बालाई मनसराको यही राजले मन छोयो ।


आख्यानकारको मष्तिस्कमा बसेको यो ‘मनसरा’मा केही कथा थपिए, व्यथा मिसाइए । कोभिड महामारीमै गृहकार्य थालिएको मनसरा यही २१ गतेबाट दर्शकमाझ आउँदै छ । निर्देशक सुब्बा भन्छन्, ‘मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफूलाई पाउने छन् ।’


सिनेमाको प्रचारका लागि पोखरा आएको टोलीसँग शनिबार चलचित्र पत्रकार संघले पत्रकारको भेटघाटको चाँजोपाँजो मिलाएको थियो । पत्रकारमाझ सुब्बाले समाजमा भएका घट्नालाई आधार बनाएर सिनेमा निर्माण गरिएको उल्लेख गरे । ‘सिनेमा छ्या भन्ने बनाएको छैन । पत्याउने सिनेमा बनेको छ । फरक धारको सिनेमा बनाउने प्रयास हो,’ उनी भन्छन्।

Advertisement


आख्यानभन्दा सिनेमा लेखन केही सजिलो भएको उनको टिप्पणी छ । ‘यहाँ कथा भन्नलाई प्राविधिक पक्षको सहयोग पाइन्छ, गीत हुन्छ, अभिनय हुन्छ, तर मलाई आख्यान लेख्नै मजा लाग्छ,’ उनी भन्छन् ।


अभिनेता प्रविन खतिवडाले मनसरा सोसल ड्रामा भएको जनाए । श्रमिक वर्गको संघर्ष, परिवारबाट विछोड भएका मान्छेका कथालाई मनसरामा प्रस्तुत गरिएको उनले जनाए । उनी सिनेमामा साधारण कृषकको भूमिकामा देखिएका छन् । मिश्रित समाजको कथा भएकाले मनसरा दर्शकको रोजाइमा पर्नेमा उनी विश्वस्त छन् ।

Advertisement


नायिका मिरुना मगरले मनसरा समाजको वास्तविक कथामा आधारित भएको जनाइन् । जारीमा दर्शकबाट पाएको माया स्वरुप मनसराको आफ्नो भूमिकालाई पनि दर्शकले रुचाउनेमा उनी आशावादी छिन् । अभिनेतृ मेनुका प्रधान पनि मनसराबाट आशावादी देखिन्छन् ।


कार्यकारी निर्माता सिजन दाहालले सिनेमाको छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुर स्थित सिमाखो र पाँचथरको गाउँमा भएको जानकारी गराए । सिमाखो गाउँमा मानिसहरु भाडामा बसेर, जमिन लिजमा लिएर खेती, किसानी गर्छन् । गाउँमा यसरी खेती गरी सहरलाई पाल्नेहरुको कथा यसमा छ ।

तपाईको प्रतिक्रिया