घोडेपानीमा वर्षमै ३१ हजार पर्यटक

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख ९ गते ११:०९

म्याग्दी ।
विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार ४ सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ ।


चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ । गत वर्ष २५ हजार २ सय ७९ जना पर्यटक भित्रिएका र ६ हजार १ सय ६० जना घोडेपानी हुँदै अन्यत्र गएको घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताए ।

सबैभन्दा बढी चैत महिनामा ५ हजार ८ सय ४९ जना पर्यटक घोडेपानी आएका छन् । वैशाखमा ४ हजार ४ सय १४, जेठमा १ हजार २ सय ८१, असारमा ४ सय ४१, साउनमा ९ सय ४७, भदौमा ९ सय ७२, असोजमा ४ हजार २ सय ९८ र कात्तिकमा ४ हजार ३ सय ५७ जना पर्यटक आएका छन् । कात्तिकमा ४ हजार ३ सय ५७, मंसिरमा ३ हजार १ सय ९९, पुसमा १ हजार ६ सय २७, माघमा १ हजार ५ सय ७७ र फागुनमा २ हजार ४ सय ७७ जना पर्यटक आएका थिए ।

Advertisement


विसं २०७९ मा २६ हजार ३ सय १ पर्यटकले घोडेपानी घुमेका थिए । घोडेपानी टोल सुधार समितिका उपाध्यक्षसमेत रहेकी होटल व्यवसायी जुलीठकुरी पुनले कोरोनाअघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताइन् ।


‘अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ’, उनी भन्छिन्, ‘आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ ।’ कोरोनाअघि वार्षिक ६० देखि ७० हजार पर्यटक घोडेपानी आउने गरेका थिए । समुद्र सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जंगल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।

Advertisement

पुनहिल प्रवेश गर्न नेपालीले ५० र विदेशीले १ सय ५० रुपैयाँ तिर्नुपर्छ


घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा १ दिनमा १ हजार जना बास बस्न सक्छन् । पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेष्टुराँलाई ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न हरेक नेपालीले ५० र विदेशीले १ सय ५० शुल्क तिर्नुपर्छ ।


पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँस जंगल छ । हिजोआज गुराँसले ढकमक्क भएको जंगलमा रमाउने पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए ।


अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । आन्तरिक पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर– घार– शिख– चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधनमा पुग्न सकिन्छ । पोखरा–घोडेपानी बस सेवा पनि सञ्चालनमा छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया