शिवलाई छन्द बचाऊ वाचनकला पुरस्कार

समाधान संवाददाता २०८१ वैशाख ९ गते ११:२४

पोखरा ।
कवि शिव त्रिपाठीलाई छन्द बचाऊ वाचनकला पुरस्कार प्रदान गरिएको छ । माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्द दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा त्रिपाठीलाई पुरस्कार प्रदान गरिएको हो ।


कार्यक्रममा साहित्यकार पिताम्बर नेपालीले सत्पात्रलाई प्रतिष्ठानले पुरस्कृत गरेको भन्दै छन्द दिवस एउटा उपलब्धि भएको जनाए । छन्द बचाऊँ अभियान २०५३ का अभियान्ता माधव वियोगीले सर्वसाधारणका लागि पनि यो दिवस महोत्सव भएको उल्लेख गरे । उनले छन्दले सभ्यता र संस्कृतिको समेत प्रतिनिधित्व गर्ने जनाए ।


प्राज्ञद्वय हरिदेवी कोइराला र पदमराज ढकालले छन्दवादी र छन्दप्रेमीले आआफ्नै किसिमले संस्था खोल्ने, छन्द प्रशिक्षण दिने, गोष्ठीहरू गर्ने लगायतका कार्यक्रम गर्न थालेपछि छन्दको पुनर्जागरण भएको सुनाए । पुरस्कृत व्यक्तित्व त्रिपाठीले आफूलाई जीवनभर कवितावाचन र लेखनमा लाग्न पुरस्कारले प्रोत्साहन गरेको जनाए ।

Advertisement


प्रतिष्ठानका उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी झपिन्द्रराज रेग्मी र विश्वबन्धु पोखरेल, पत्रकार सरिता तिमिल्सेना पंगेनी, प्रतिष्ठानकी कोषाध्यक्ष छन्दिका त्रिपाठी, प्रमुख संरक्षक सरिता घिमिरे लगायतले बोलेका थिए ।

कार्यक्रममा कृष्ण चापागाइँ, ऋषिकेश बराल, ध्रुव बराल, लक्ष्मण गौतम, नारायण घिमिरे, निर्मला अर्याल, सुयोग संयोग, आर्या त्रिपाठी, रूद्रबहादुर थापा लगायतले सिर्जनावाचन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया