सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

समाधान संवाददाता २०८१ वैशाख ९ गते ११:४४

पोखरा ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार ‘कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ ।


संस्थाका सदस्य उपप्राध्यापक डा. बोधराज ढकालले आफ्नो विद्यावारिधि तहको शोप्रबन्धमा आधारित भएर सिर्जनशील परिवारसमक्ष अध्ययनको सार प्रस्तुत गरे । उनले अध्ययनमा लेखनाथ पौड्याल आफ्नो ६० बर्से काव्य साधनामा क्रमशः शृंगारिक प्रवृत्तिबाट प्रवेश गरी आध्यात्मिक भाव हुँदै दार्शनिक चिन्तनलाई फराकिलो बनाएको बताए ।


ढकालले अध्ययनमा लेखनाथ पौड्यालका बुद्धिविनोद (१९७३), सत्यकली संवाद (१९७६) र तरुणतपसी (२०१०) गरी तीनवटा काव्यकृति लिएर तिनलाई जीव र जगत, माया र बन्धन तथा मोक्ष र ब्रह्मका आधारमा अध्ययन गरेको स्पष्ट पारे । शंकराचार्यको वेदान्त दर्शनलाई सिद्धान्त मानेर लेखनाथका काव्यकृतिको निरूपण गर्दा ब्रह्मलाई सत्य र जगतलाई मिथ्या मानेको साथै जीवात्मा र ब्रह्म एउटै रहेको पाइएको बताए ।

Advertisement


कार्यक्रममा प्राडा. जगन्नाथ रेग्मी, प्राडा. शालिग्राम सुवेदी, सहप्रा. राधाकृष्ण गैरे, डा. श्रीधर न्यौपाने, डा. योगराज पौडेल, डा. भोलानारायण रेग्मी, सहप्रा. पूर्णचन्द्र वाग्ले, डा. लक्ष्मीशरण अधिकारी, डा. टीकाराम आचार्यलगायतले जीवन, जगत, अध्यात्म, धर्म, दर्शन, ज्ञान, विज्ञान, मोक्ष, मन, समाज, जीवलगायत पक्षमा केन्द्रित भई विभिन्न तर्क र टिप्पणी गरे ।


संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव डा. भानुभक्त आचार्यले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिवार यस्तै सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानमूलक कार्यक्रम गर्दै आएको जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया